• मंसिर १५ २०८१, शनिबार

हटाइयो जनकपुरमा लागू गरिएको निषेधाज्ञा, दुई समुदायबीच सात बुँदे सहमति

कार्तिक २९ २०७८, सोमबार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा लगाइएको निषेधाज्ञा हटाइएको छ ।

सोमबार दुई समूदायबीच भएको छलफलमा सात बुँदे सहमति भएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

सहमतिमा स्थानीय तेलिया पोखरी अबदेखि उपमहनरपालिकाको अधीनमा रहने, उक्त पोखरीको व्यवस्थापन तथा संरक्षण उपमहनरपालिकाले नै गर्ने, हिन्दुको छठ र मुस्लिमको दाहा जस्ता पर्व प्रशासनलाई पूर्वजानकारी गराई पोखरीमा माटो नझर्ने गरी गर्ने, मुस्लिम समूदायले त्यहाँ गाडेको झण्डा अन्य स्थानमा व्यवस्थापन गर्ने, दुवै समूदायले एकअर्कालाई सम्मान गर्नेलगायतका विषय छन् ।

त्यसैगरी उक्त सहमति कार्यान्वय गराउन उपमहनगरपालिका उपमेयर रीताकुमारी मिश्रको संयोजकत्वमा दुवै समुदायबाट चार–चार जना प्रतिनिधि रहने गरी समितिसमेत गठन गरिएको छ ।