काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका-२ याङ्दान खर्कमा हिमपहिरो गएको छ । आइतबार बिहान मुस्ताङको टुकुचे अर्थात मानापाथी हिमालबाट हिमपहिरो आएपछि भाग्ने क्रममा एक जना शिक्षकसहित ८ जना विद्यार्थी घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । ‘हाल घटनास्थलमा प्रहरीलाई खटाएका छौं । पहिरो रोकिएको छ । हिउँमाथि भएको हुनाले थप खस्न सक्ने अवस्था छ । सचेत रहन भनेका छौं ।’ शर्माले भने ।
भागदौडका क्रममा स्थानीय जनआर्दश अमरसिंह माविका शिक्षक र विद्यार्थीको खुट्टामा चोट लागेको हो । पठनपाठन चलिरहेका बेला पहिरो खसेपछि उनीहरू कक्षाकाेठा छोडेर भागेका थिए । पहिरोको जोखिम अझै कायम रहेकोले नजिकका घरमा बसिरहेका नागरिकहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । विद्यार्थीलाई समेत अन्तै लगिएको मुस्ताङ प्रहरीले जनाएको छ ।
हिउँ पहिरोसहित धुँलो खसेकोले मुस्ताङको लाजेङ र न्याउरीकोट ढाकिएको छ । हिउँ पहिरोका कारण स्थानीय त्रसित बनेका छन् । यसअघि यति ठूलो पहिरो खसेको अनुभव नभएको गाउँले बताउँछन् ।