काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारीले) ले सरकारले हालै बढाएको मूल्य वृद्धिको कडारुपमा विरोध जनाएको छ ।
सो संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा आज जारी विज्ञप्तिमा यसरी विरोध जनाइएको छ ।
सरकारले कोरोनाबाट आहत भएका जनतालाई राहत दिनु पर्नेमा उल्टै अत्यावश्यक वस्तुको मूल्यको भाउ बढाएर ढाड नै सेकेको भन्दै गजुरेलले सरकारको तिब्र आलोचना गरेका छन् ।
विज्ञप्तिमा उनले सरकारको यस्तोखाले रवैयाका विरुद्ध आमजनतालाई संघर्षमा आउन अपील पनि गरेका छन् । मूल्यवृद्धि तत्काल फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी पनि उनले सरकारलाई दिएका छन् ।
सरकारले भर्खरै मात्र पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसाबले मूल्य बृद्धि गरेको छ । सरकारको यस कदमका विरुद्ध विप्लव नेकपाले त देशवयापी संघर्षका कार्यक्रम नै घोषणा गरेको छ । यसै सिलसिलामा विप्लव नेकपाले कात्तिक ३० गते नेपाल बन्दको घोषणा नै गरिसकेको छ ।