सिन्धुली, जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सदरमुकाममा सार्वजनिक कार्यक्रम गर्न निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा बिहान ११ बजेदेखि राती १२ सम्मका लागि तोकिएको छ ।
एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाउने कि नबनाउने भन्ने विषयमा स्थानीयबीच विवाद बढेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
कमलामाई नगरपालिकाले सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन तथा बीपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रममा पोखरेललाई प्रमुख अतिथि बनाएकामा अर्को पक्षले विरोध गरेपछि विवाद बढेको हो ।
पोखरेललाई मुख्य अतिथि बनाउने विषयमा विपक्षी नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको हो । यद्यपि, प्रशासनका कार्यालयले उक्त कारण खुलाएको भने छैन ।
कार्यक्रममा सहभागी हुन पोखरेल मंगलबार नै सिन्धुलीगढी पुगेपनि सत्ता पक्षीय दलका कार्यकर्ताले आपत्ति जनाएका हुन् ।
सहमति जुटाउन प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सर्वदलीय बैठक राखे पनि सहमति नबनेपछि जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो।