कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेशबाट नै सत्ता गठबन्धन सुरु भएको खुलासा गरेका छन् ।
आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री शाहीले भने, “महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा परेपछि कांग्रेस र माधवकुमार नेपाल पक्षका सांसदले फ्लोर क्रस गरेर गठबन्धनको सूत्रपात गरेका हौं । त्यसपछि मात्र गण्डकी, लुम्बिनी हुँदै सबै प्रदेश र संघमा समेत गठबन्धनको सरकार बन्यो ।”
भूगोलमा सबैभन्दा ठूलो र जनसंख्या सबैभन्दा थोरै रहेको कर्णालीको गरिबी बिस्तारै घट्दै जाने पनि मुख्यमन्त्री शाहीले बताउदै कनेक्टिभिटीलाई प्राथमिकता दिने बताए । उनले भने, “कर्णाली प्रदेशका सल्यान र पश्चिम रुकुमबाहेकका जिल्लामा पर्याप्त अनाज उत्पादन हुँदैन । बाटो बनेपछि तल्लो भेगका उत्पादन माथिल्लो भेगमा जान थालेको छ । गरिबी पनि घट्दै गएको छ । कनेक्टिभिटी नहुँदा नै कर्णालीबासीले गरिबी झेलिरहनुपरेको हो । अब सुनको थालमा भिख माग्न सुहाउँदैन ।”
उनले कर्णालीबासीले खान पाएनन्, भोकै मरे भन्ने अवस्था आउन नदिने पनि दाबी गरे । उनले भने, “हाम्रो संविधानमै खाद्य सम्प्रुभताको ग्यारेन्टी गरिएको छ । यसपालि हुम्लामा छिटो हिउँ पर्यो । लिमी गाउँ र सिमकोटको सम्बन्ध टुटेको छ । त्यहाँ हेलिबाट तत्काल खाद्यान्न पुर्याउनुपर्ने अवस्था आइसक्यो । म हिजोजस्तो खान नपाउने, भोकै मर्ने अवस्था आउन दिने छैन ।” बाटो, बिजुली, वन, बुटी, विचार र व्यवस्थापनबाट कर्णालीले विकासमा फड्को मार्ने उनको भनाइ छ ।