काठमाडौँ । राजधानीमा खुला सडकमै भाइटिका कार्यक्रम आयोजना हुने भएको छ । आफनै दिदीबहिनी र दाजुभाई नभएका वा दिदीबहिनी र दाजुभाईहरुबाट टाढा रहेकाहरुको लागि चक्रपथको सडकमै भाइटिका लगाउन लागिएको खुला भाइटिका कार्यक्रमको आयोजक जय महाकाँल युवा समूहले जानकारी दियो ।
एकवर्ष भन्दा बढी समयदेखि कोरोना भाइरसले रोजगारी गुमाएर भोकाएका मानिसहरुलाई निःशुल्क खाना खुवाउदै आएको सो समूहले आफैले खाना खुवाइरहेका तथा इच्छुक सबैको लागि भनेर ‘सडमा भाइटिका कार्यक्रम’ ल्याएको जय महाकाँल युवा समूहका महासचिव मनिष विश्वकर्माले बताए ।
भोलि शनिबार भाइटिकाको दिन काठमाडौँको नयाँ बसपार्क नजिकै बिजी मलको अगाडी रहेको खुला मैदानमा बिहान साढे दश बजेदेखि सो ‘सडक भाइटीका कार्यक्रम’ सुरु हुने मनिषले जानकारी दिए । आफ्ना दाजुभाई दिदी बहिनीहरुबाट टाढा रहेकाहरुलाई साथै इच्छुकहरुलाई खुला भाइटिका कार्यक्रममा उपस्थित हुन अपिल गर्दै सो समूहले भनेको छ,‘आउनुहोस् सडकमा भाइटिका मनाऔं, हामी कोही पनि दिदीबहिनी र दाजुभाई बिहीन छैनौं भन्ने सन्देश फैलाऔं ।’