• फाल्गुन २६ २०८२, मंगलवार

नेतृत्वकाे हेलचेक्राइँले कांग्रेस इतिहासकै कमजोर : नेता सिंह

कार्तिक १४ २०७८, आईतवार

काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्री पार्टी भित्र नेतृत्वले अलोकतान्त्रीक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनु पर्ने बताएका छन्।

आइतबार नेपाली कांग्रेस किर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको नेतृत्वले हेलचेक्राइँ गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेकाे टिप्पणी गरे। पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफुहरू नै पार्टी सुधारमा लाग्नु पर्नेमा जोड दिए।

‘पार्टीभित्रको समस्याका कुरा हामीले नउठाए कस्ले उठाउँछ ? पार्टीको समस्या हामी आफैं समाधान गर्ने हो’, उनले भने, ‘बाटो बिराउनेलाई बाटो देखाउनु पर्दछ । आलोचना गर्दा पार्टीको विधि र पद्धतिको रक्षा हुन्छ ।’ पार्टीभित्रका भजन मण्डलीले नेतृत्वलाई अलमलमा पारिरहेको नेता सिंहको भनाइ थियो ।

पार्टीभित्रको बेथिति र विकृत अन्त्यका लागि नयाँ पुस्ता आउनुपर्ने उनको धारणा थियो । विधि र पद्धतिको पालना गर्नुपर्छ भन्ने पार्टीले नै विधिको शासन मान्न छाडे जनताले विश्वास नगर्ने सिंहको टिप्पणी थियो । देशमा लोकतन्त्र जोगाउनका लागि पनि कांग्रेसभित्र विधि–पद्धति जोगाउन आवश्यक रहेको उनको भनाइ थियो ।

‘देशमा लोकतन्त्र जोगाउनका लागि पनि कांग्रेसमा विधि पद्धति जोगाउन जरुरी छ । सक्षम प्रभावकारी पार्टीको रुपमा स्थापना पनि पहिले पार्टीभित्र विधि पद्धतिको स्थापना गर्नु पर्दछ,’ उनले भने, ‘त्यसो गर्न नसके प्रजा परिषद्को बाटोमा नेपाली कांग्रेस जान्छ ।’