• मंसिर १४ २०८१, शुक्रबार

बारको आन्दोलनमा बाहिरका मान्छेलाई कालो कोट भिराएर घुसपैठको प्रयास, अध्यक्षले दिए यस्तो कडा चेतावनी

कार्तिक १३ २०७८, शनिबार

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफुहरुले शुरु गर्न लागेको आन्दोलनमा घुसपैठ गर्न कानून व्यवसायमा नरहेका व्यक्तिलाई कालो कोट बाँडेको आरोप लगाएका छन् ।

शनिबार पत्रकारसँग कुरा गर्दै उनले भोलि आइतबारदेखि शुरु हुने कानून व्यवसायीहरुको आन्दोलनमा घुसपैठ गर्ने प्रयास भएको भन्दै बाहिरका केही मान्छेहरुलाई कालो कोट भिराएर आन्दोलनमा पठाउने तयारी भएको आफूहरुलाई जानकारी आएको बताए ।

‘बानेश्वरको एक ठाउँमा कोट बाँडिएको भन्ने हामीले सूचना पाएका छौं । बाहिरका केही मान्छेहरुलाई कालो कोट भिराएर आन्दोलनमा पठाउने र घुसपैठ गरेर प्रधानन्यायाधीशको समर्थनमा भिडन्तको अवस्था सिर्जना गर्न खोजिएको सूचना आएको छ’ बार अध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो आन्दोलनलाई शान्तिपूर्ण रुपमा अघि बढाउन र घुसपैठको प्रयास नगर्न म सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछु ।’

आइतबारको कार्यक्रममा सहभागी हुने कानून व्यवसायीलाई कालो कोट, लोगो र परिचयपत्रसहित उपस्थित हुन आग्रह गरिएको पनि बताए ।

बार अध्यक्ष श्रेष्ठले कालो कोटको आवरणमा बाहिरिया व्यक्तिहरु घुसपैठ गरेर आन्दोलनमा मुठभेडको स्थिति निम्त्याएमा न्यायालयको अहिलेको नेतृत्वका लागि प्रत्युत्पादक हुने चेतावनी पनि दिए ।