काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीसँग एकताको प्रस्ताव गरेका छन् ।
शनिबार सर्लाहीमा आयोजित कार्यक्रममा मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको वास्तविक अधिकार प्राप्त नहुने र विकास पनि नहुने प्रचण्डले भन्दै छिटै पार्टी एकता गर्न प्रस्ताव गरेका हुन् ।
कार्यक्रममा आफूसँगै उपस्थित जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उनले भने, ‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौं, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?’
जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई राम्रोसँग चिन्ने भन्दै प्रचण्डले भने, ‘गठबन्धन त हामीले गरेकै छौं । अब पार्टी एकता गरौं । ढिलो नगरौं, तपाईंहरुलाई चाहिने अधिकार र सम्मान हामी दिन्छौं ।’
प्रचण्डले पार्टी एकताको छिटो निर्णय गरेर जनकपुरमा घोषणा गर्नुपर्ने पनि बताए । ‘नडराई पार्टी एउटै बनाऔं, सिद्धियो, म जनकपुरमा आउँछु । जनकपुरमा घोषणा गरौं’ उनले भने ।
प्रचण्डले अघि भने, ‘एकता मन परेन भने भन्यो भने तपाईहरुमा पनि केही पल्क्यो भन्ने बुझे हुन्छ, भीरबाट हामफाल्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन । अब मधेस माओवादीमय हुनेछ ।’