सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले धनुषाका एक प्रधानाध्यापकमाथि दुर्व्यवहार गरेका छन्। धनुषाको सवैला नगरपालिका–१२ रघुनाथपुर स्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वाका प्रधानाध्यापक बैजु साहलाई जनमतका कार्यकर्ताले शुक्रबार कालोमोसोसहित चप्पलले हानेर दुर्व्यवहार गरेका हन्।
आन्दोलनरत्त विद्यार्थीको मागप्रति वेवास्ता गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले जनकारबाही स्वरुप कालोमासो दल्दै चप्पल प्रहार गरी दुर्व्यवहार गरेका थिए।
विद्यार्थीहरुले नियमित पठन–पाठन हुनुपर्ने, शिक्षकको व्यवस्थापन हुनुपर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामग्रीहरु विद्यालयमा राख्नु पर्ने लगायतको माग गर्दै आन्दोलन गर्दै आएका छन्।
यसअघि गएको कार्तिक ४ गते जनमत पार्टीका नेताकार्यकर्ताहरुले जनकपुरस्थित खानेपानी तथा ढल निकास कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न पारेर जनकपुर बजार घुमाएका थिए।