• मंसिर १३ २०८१, बिहीबार

नेकपा एमालेको १० औं महाधिवेशन मंसीरमा

कार्तिक ११ २०७८, बिहीबार

काठमाडौं । नेकपा एमालेको आसन्न १० औं महाधिवेशन मंसीरमा हुने भएको छ ।

चितवनमा हुने महाधिवेशनमा १,५३६ प्रतिनिधि सहभागी हुने भएका छन् । आज बसेको स्थायी कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको हो ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार हाल एमालेको पार्टी सदस्य संख्या ७ लाख २१ हजार छ । उनीहरुमध्येबाट १,५३६ प्रतिनिधि १० औं महाधिवेशनमा सहभागी हुनेछन् ।

भूगोलबाट १,१९६ जना आउने छन् भने केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका निश्चित सदस्य पदेन प्रतिनिधि हुनेछन् ।

स्थायी कमिटीको निर्णयअनुसार हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १,५०० पार्टी सदस्य बराबर दुई खुला र एक महिला गरी ३ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । त्यसमा थप हुने हरेक एक हजार सदस्य बराबर एक प्रतिनिधि थप हुनेछ ।

हरेक जिल्लाबाट एकएक जना दलित प्रतिनिधि, हरेक प्रदेशबाट मजदुर प्रतिनिधिहरु चयन हुनेछन् । हरेक जनसंगठनबाट ५ र ५ जना महाधिवेशन प्रतिनिधि आउने छन् भने केन्द्रीय कार्यालय र विभागहरुबाट दुई खुला र एक महिला गरी ३ जना तथा प्रवासबाट २० जना प्रतिनिधि सहभागी हुनेछन् ।