काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सडकबाट राजीनामा माग्दैमा नदिने बताएका छन् । राजीनामाको प्रश्न नै नभएको उनले बताएका छन् । उनले आफू संविधानअनुसार प्रधानन्यायाधीश बनेको भन्दै संविधानअनुसार विधी र प्रक्रियाबाट बिदा गरेमात्र आफू जाने बताएका छन् । उनले न्यायालयमा आफूले शुदृढीकरण गरिरहेकाले यो नचाहनेले आफ्नो राजीनामा मागिरहेको बताएका छन् ।
प्राइमटाइम टेलिभिजनलाई बिहीबार दिएको अन्तर्वार्तामा उनले आफूले मन्त्रिपरिषदमा कुनै भाग नमागेको बताए ।
उनले प्रचण्डले, माधवकुमार नेपालले र प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत गजेन्द्र हमाल प्रधानन्यायाधीशको कोटामा नभएको बताइसकेको बताए । उनले यतिहुँदा हुँदै पनि आफूमाथि बिनाअर्थ आरोप लगाइएको बताए । उनले यसलाई अस्वीकार गर्ने बताए । हमाललाई मन्त्री बनाउन आफूले सिफारिस नगरेको बताए ।
आफूमाथि दलहरुले महाअभियोग नल्याउने बताए । उनले महाअभियोग जस्तो कुराका पछाडि दलहरु नलाग्ने आफूलाई विश्वास रहेको बताए । उनले आफूमाथि उठेका प्रश्न संवैधानिक भए त्यसको सामना गर्ने अन्यथा न्यायापालिकालाई कमजोर बनाएर आफू नजाने बताए ।
उनले अदालतमा कुनै पनि मानेमा भ्रष्टाचार र अनियमितता नभएको दाबी गरेका छन् । अदालतमा भ्रष्टाचार छ भनेर गलत आरोप लगाइएको पनि उनको टिप्पणी छ ।
उनले आफू संविधानप्रति निष्ठा र इमानदार व्यक्ति भएको दाबी गरे । उनले आफूले न्यायापालिकालाई सुदृढ तवरले अघि बढाएको पनि दाबी गरे । आफूले न्यायापालिकालाई कमजोर बनाउन नदिने पनि उनको भनाइ थियो ।
प्रधानन्यायाधीश राणाले एनसेल प्रकरणमा पनि स्पष्टीकरण दिए । उनले एनसेललाई अदालतले कर छुट नदिएको दाबी गर्दै बरु कर लगाएको जिकिर गरे । यस्तै उनले न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्न तत्कालन नसकिने बताए ।
उनले कानुन बनाएरमात्र सम्पत्ति विवरण सार्वजनिक गर्न सकिने बताए । उनले न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गरे उनीहरुमाथि थप सुरक्षा चुनौती थपिने बताए ।