काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बन्ने भएका छन् । नेकपा एमालेबाट मुख्यमन्त्री रहेकी अष्टलक्ष्मी शाक्यले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि उक्त पदमा समाजवादीका बागमती प्रदेश संसदीय दलका नेता पाण्डेले दावी गर्ने भएका हुन् ।
बुधबारै प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम नयाँ सरकार गठनका लागि आज (बिहीबार) दिउँसो ३ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका थिए ।
चार दलीय गठबन्धनबीच पाण्डेलाई नै मुख्यमन्त्री बनाउने सहमति भइसकेको छ । सोहीबमोजिम नेता पाण्डेले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादीका सांसदहरुको समर्थनमा बुधबार नै प्रदेश प्रमुखसमक्ष आफ्नो बहुमत दाबी पेस गरिसकेका छन् । उनलाई आजै मुख्यमन्त्री नियुक्त गरेर शपथ खुवाउने प्रदेश प्रमुखको तयारी रहेको बताइएको छ ।
स्रोतका अनुसार मुख्यमन्त्रीमा पाण्डे र अन्य गठबन्धन दलबाट भागबण्डाका आधारमा एक-एक जनाले मन्त्री पदका लागि आजै शपथग्रहण गर्ने तयारी रहेको छ । हाल १०९ सदस्य रहेको बागमती प्रदेश सभामा बहुमतका लागि ५५ सांसदको समर्थन चाहिन्छ । मुख्यमन्त्रीका दाबेदार पाण्डेको पक्षमा ५९ सांसद रहेका छन् ।