काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीलाई बोलीवचन तथा व्यवहार उत्कृष्ट बनाउन निर्देशन दिएका छन् ।
इलाका प्रहरी कार्यालय (ख) लुक्लाको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक क्षेत्रीले जनभावनाको कदर, प्रविधिमैत्री प्रहरी सेवामा संवेदनशील भएर लाग्न निर्देशन दिएका हुन् ।
सोलुखुम्बुको खुम्बु क्षेत्रमा विश्वभरिबाट पर्यटक आउने भएकाले उनीहरूको सुरक्षाप्रति सजग बन्नुपर्नेमा जोड दिँदै उनले शान्तिसुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताए ।
नेपाल सरकारको रु दुई करोड ६६ लाख ३३ हजारको लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको आज एक कार्यक्रमका बीच महानिरीक्षक क्षेत्रीले उद्घाटन गरेका हुन् । यस्तै बिहीबार इलाका प्रहरी कार्यालय नाम्चेमा निर्माण गरिएको भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कबित कटवाल, प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाही र खुम्बु पासाङल्हामु गाउँपालिका कार्यबाहक अध्यक्ष टासी ल्हामु शेर्पा लगायतको उपस्थिति थियो । सोही कार्यक्रमका अवसरमा निर्माण व्यवसायीद्वय विजय तामाङ र नाम्गेल शेर्पालाई सम्मान गरिएको छ । निर्माणको क्षेत्रबाट पुर्याएको योगदानको कदर गर्दै महानिरीक्षक क्षेत्रीले उनीहरुलाई सम्मान गरेका हुन् ।