काठमाडौं । बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसंगै सत्ता गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी भएको छ ।
शाक्यले नेपालको संविधानको धारा १६९ (१) को (क) अनुसार राजीनामा घोषणा गरेकी हुन् । आफ्नो पार्टीको बैठकको निर्णयअनुसार आफूले नयाँ सरकारका लागि मार्गप्रशस्त गरेको बताइन् । उनले संसदमा बोल्दै आफूले सरकारमा रहँदा राम्रो काम गर्नका लागि प्रयत्न गरेको बताउदै प्रदेशमा बसेर मुख्यमन्त्रीका नाताले अल्पमतमा रहे पनि आफूहरूले छोटो समयमा राम्रो काम गरेको उनको दाबी छ । ‘सरकारका लागि प्रतिपक्षीको पनि साथ रह्यो । जे जस्तो काम गरियो । सबैको साथ सहयोगल गरियो’, मुख्यमन्त्री शाक्यले भनिन् ।
सरकार बनाउनका लागि आवश्यक मत सहित तयार रहेको केन्द्रिय गठबन्धनको सहमतिबमोजिम प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने यसअघि नै सहमति भइसकेकोले पनि समाजवादीका नेता पाण्डेपछि कांग्रेसका नेता ईन्द्रबहादुर बानिया मुख्यमन्त्री बन्ने सहमति यी दुई दलबीच भएकै कारण अब मुख्यमन्त्री पाण्डे बन्ने पक्का भएको छ ।
गत २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी थिइन् । एकल बहुमत अर्थात् एमालेका ५६ जना सांसदको समर्थन दाबी गर्दै मुख्यमन्त्री नियुक्त भएकी शाक्य पार्टी विभाजन भई १३ जना सांसद नेकपा (एकीकृत समाजवादी)मा लागेपछि अल्पमतमा परेकी हुन् । अहिले एमालेका ४३ जना मात्र सांसदको साथ रहेकाले उनले विश्वासको मत पाउन सक्ने अवस्था नदेखिएपछि राजीनामा दिएकी हुन् । बाग्मतीमा गठबन्धमा रहेका दलहरू नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विश्वासको मत नदिने बताउदै गठबन्धनले विश्वासको मतभन्दा पनि राजीनामा दिएर मार्गप्रशस्त गर्नका लागि शाक्यलाई आग्रह गर्दै आएको थियो ।