• मंसिर १८ २०८१, मंगलवार

अहमदिया संघ नेपालको वार्षिक कार्यक्रम राष्ट्रिय ‘इज्तिमा’ वीरगंजमा सम्पन्न (फोटो फिचर)

कार्तिक ९ २०७८, मंगलवार

काठमाडौँ । ‘सबैलाई माया गर, कसैलाई घृणा नगर’ भन्ने मूल नारा र उद्देश्य राखेको मुस्लिम संगठन अहमदिया संघ नेपालको वार्षिक कार्यक्रम ‘राष्ट्रिय इज्तिमा’ तीन दिवसीय विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ । पूर्वी तराईको पर्सामा अवस्थित विन्दवासिनी गाउँपालिकाको पर्सौनीभाटा गाउँमा रहेको मसरुर आधारभूत विद्यालयमा सो संगठनको राष्ट्रिय इज्तिमा कार्यक्रम भएको हो ।

देशभरबाट पर्सौनीभाटा गाउँमा जम्मा भएका सो संगठनका महिला, पुरुष, प्रौढ, युवा तथा बालबालिकाहरुले आफ्नो संगठनको सो कार्यक्रमलाई तीन दिनसम्म रमाइलो गरेर मनाएर खुशीसाथ आआफ्नो कार्यक्षेत्रमा फर्किएका छन् ।

कार्यक्रमको पहिलो दिन गत शुक्रबार तीनदिन सम्म हुने विभिन्न कार्यक्रमको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रमको सुरुमा कार्यक्रम स्थलमा रहेको मस्जिदको अगाडी संघका नेपाल इञ्चार्ज सरदार मोहम्मद मोहन मोइन रावतले नेपालको राष्ट्रिय झण्डाको साथमा आफ्नो संस्थाको झण्डा फहराएर झण्डोतोलन गरेका थिए ।

झण्डोतोलन पछि कार्यक्रममा उपस्थित सो संस्थाका सदस्य तथा पर्सौनी भाटा गाउँका जनताले अल्लाहप्रति ‘दुवा’ गरेका थिए । तीन दिने राष्ट्रिय इज्तिमा कार्यक्रमको उद्घाटन गर्न आयोजित एक विशेष सभालाई सम्बोधन गर्दै सो संघका नेपाल खलिफा समेत भनेर चिनिने सरदार मोहम्मद मोहन मोइन रावतले इस्लामहरुको पवित्र ग्रन्थ कुरानका अनुसार इस्लाम धर्म संसारको सबैभन्दा शान्तिकामी धर्म रहेको बताए । विश्व भातृत्व र शान्तिबाट मात्रै संसारमा उन्नती र प्रगती हुने उल्लेख गर्दै सरदार मोहम्मद मोहन मोइन रावतले बन्दुक चलाएर मान्छे मार्ने मानिस कहिल्यै पनि असली इस्लाम हुन नसक्ने समेत बताए ।

उद्घाटन कार्यक्रममा संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा अंसारी, उपाध्यक्ष मोहम्मद स्माइल मिया, संघका युवा संघका अध्यक्ष सलीम अहमद गदी, महिला अध्यक्ष गजला सगीर, प्रौढ संगठनका अध्यक्ष हैदर मियाँ, कार्यक्रम व्यवस्थापक तथा संघका बारा, पर्सा जिल्ला इञ्चार्ज हासिम मोहम्मद, काठमाडौँ उपत्यकाका इञ्चार्ज नजरुल हक, समारोह व्यवस्थापनका संयोजक सगीर अहमद, संघका सचिव ईस्राइल अहमद,मोरङ र सुनसरी इन्चार्ज नैमुद्दीन अहमद, कैलाली कञ्चनपुर इन्चार्ज समीन अहमद लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमको समारोहलाई सिराज अहमदले सहजीकरण गरेका थिए ।

वार्षिक इज्तिमा कार्यक्रमको उद्घाटनपछि विभिन्न उमेर समूहका छुट्टाछुट्टै र महिलाहरुका छुट्टै विभिन्न कार्यक्रमहरु गरिएका थिए । शारीरिक र मानसिक गरेर दुई भागमा बाँडिएका वार्षिक इज्तिमाका अवसरमा आयोजित शारीरिक कार्यक्रमहरुमा एथ्लेटिक्स, सटपुट, डोरी तान्ने, कबड्डी, घैंटो फोर, छिट्टो हिड्ने, ढिलो हिड्ने, कुर्सी दौड लगायत थिए भने मानसिक कार्यक्रमहरुमा कूरानका श्लोक वाचन ‘लिलावत’ प्रतियोगिता, कविता वाचन प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिताका साथै हाजिरी जवाफ प्रतियोगिता रहेका थिए ।

उपाध्यक्ष मोहम्मद स्माइल मियाँका अनुसार एक आपसमा सदभाव साट्ने, शारीरिक र मानसिक क्रियाकलाप गरेर ईश्वरको कृपा प्राप्त गर्न प्रयास गर्ने, सबैलाई माया गर्ने, कसैलाई घृणा नगर्ने बन्ने, परमात्मासँग नतमस्तक हुने गरेर वार्षिक रुपमा संघले यस्ता कार्यक्रम गर्ने गर्छ । उनका अनुसार कोरोना महामारीका कारण दुई वर्ष रोकिएको सो कार्यक्रमको नेपालको बीसौं शृंखलाको रुपमा यसपटक त्यहाँ आयोजना गरि सम्पन्न गरिएको हो ।

शुक्रबार र शनिबार गरेर नसकिएका कार्यक्रम आइतबार गरेर बेलुका प्रतियोगितामा विभिन्न स्थान प्राप्त गर्नेहरुलाई पुरस्कार वितरण समारोह आयोजना गरियो । पुरस्कार वितरण समरोहमा संघका सबै पदाधिकारीका साथै स्थानिय समाजसेवी तथा बुद्धिजीवीहरुको समेत उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।

पुरस्कार वितरण तथा समापन समारोहमा समाजसेवी प्रमोद तिवारी लगायतले संघका यस्ता कार्यक्रमलाई शुभकामना दिएका थिए । पुरस्कार वितरण तथा समापन कार्यक्रममा बोल्दै संघका नेपाल इञ्चार्ज सरदार मोहम्मद मोहन मोइन रावतले आयोजित प्रतियोगितामा स्थान हासिल गर्नेहरुलाई बधाई दिएका थिए । कार्यक्रममा संघका राष्ट्रिय अध्यक्ष कमरुल होदाले असल मुसलमानले संसारमा कसैलाई पनि हतियारले नमार्ने बताएका थिए । मानिसलाई हतियार देखाएर तर्साउने र मार्ने कुनैपनि मानिस मुस्लिम हुन नसक्ने उनको भनाई थियो ।

पर्साबाट फर्केपछि ।