• मंसिर १३ २०८१, बिहीबार

विवादमा तानिएका सबैले राजीनामा दिए म पनि तयार छु : प्रधानन्यायाधीश जबरा

कार्तिक ९ २०७८, मंगलवार

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले विवादमा तानिएका सबैले राजीनामा दिए आफू पनि राजीनामा दिन तयार रहेको बताएका छन्। मंगलबार बिहान सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरूसँगको छलफलमा प्रधानन्यायाधीश जबराले आफू संवैधानिक बाटोबाट आएको र संवैधानिक हिसाबले नै बाहिरिने बताए। उनले आफू संवैधानिक बाटोबाट आएकाले संविधानको व्यवस्थाअनुसार नै कायम रहने स्पष्ट परे।

‘विवाद र प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने मैले पनि राजीनामा दिन्छु । सडकको आवाजका भरमा राजीनामा दिने हो भने न्यायपालिका बच्न सक्दैन । म संवैधानिक बाटोबाट आएको हो, संविधानको व्यवस्थाअनुसार नै कायम रहन्छु ।’

विवादमा तानिएपछि १५ जना न्यायाधीशले सामूहिक रूपमा प्रधानन्यायाधीश जबरालाई भेटेर आफ्ना धारणा प्रस्तुत गरेका हुन्। उनीहरु प्रधानन्यायाधीशलाई भेटेपछि फेरि सामूहिक छलफलमा बसेका छन् ।

न्यायालयमा बेथिति बढेको‚ सत्ता गठबन्धनमा प्रधानन्यायाधीश जबराले भाग खोजेको लगायतका विषयमा असन्तुष्टि जनाएका १५ न्यायाधीशले सोमबार प्रधानन्यायाधीश जबराले बोलाएको पूर्ण बैठक बहिष्कार गरेर छुट्टै बैठकमा बसेका थिए।

सोमबार प्रधानन्यायाधीश जबराले तोकेको इजलास पनि बहिष्कार गरेका न्यायाधीशहरूले जबरालाई भेटेर आफ्ना कुरा राख्ने र प्रधानन्यायाधीशले समाधान नगरे थप कडा कदम चाल्ने बताइएको छ। सोमबार प्रधानन्यायाधीशले १५ जना न्यायाधीशका लागि ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेको थिए। तर, ती कुनै पनि इजलास बस्न सकेको थिएन।

सत्ता गठबन्धनमा भाग खोजेको भन्दै चर्को आलोचना खेप्दै आएका प्रधानन्यायाधीश जबरामाथि राजीनामाको दबाब बढेको छ। पूर्व न्यायाधीश फोरम, चार पूर्व प्रधानन्यायाधीश, सर्वोच्च बार एसोसिएसन लगायतले जबराको राजीनामा नै अन्तिम विकल्प भएको बताएका छन्।