• मंसिर १३ २०८१, बिहीबार

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै, के उनको सरकार बच्ला ?

कार्तिक ७ २०७८, आईतवार

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आज आइतबार मतदान हुने लागेको हो ।

उनले आइतबार दिउँसो १२ः ३० बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजन सम्बन्धी प्रक्रिया सुरु हुने छ । शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने यसअघि नै दलहरुबीच सहमति भएको थियो ।

शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका थिए । आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा भने २५ असोजमै दर्ता भएको थियो । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाएका छन् ।

सम्भवत कुनै राजनीतिक सहमति नभएको खण्डमा प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्य आइतबार पदमुक्त हुने निश्चित छ । एमाले अध्यक्ष ओलीले ‘एमाले एकता जोगाउन’ भन्दै शेरधन राईको नेतृत्वको सरकारलाई विस्थापित भदौ १० मा प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाएका थिए ।

आचार्यले प्रदेश सरकार गठन गदै उनको नेतृत्वको सरकार अल्पमतमा परेको थियो । एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी बनेपछि प्रदेशसभा सदस्यहरुलाई दल रोज्न निर्वाचन आयोगले दिएको समय अनुसार १५ भदौ २०७८ मा प्रदेशका मुख्यमन्त्री आचार्य औपचारिक रुपमै अल्पमतमा परेका थिए ।

तत्कालीन एमालेमा रहेको १० जना संसदले एकीकृत समाजवादी पार्टी रोजेका थिए । प्रदेश १ मा एमालेका ५१ प्रदेश सभा सदस्य थिए । १० जना सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेपछि एमाले सांसदको संख्या ४१ मा झर्यो ।

त्यसपछि मुख्यमन्त्री आचार्य पनि औपचारिक रुपमा अल्पमतमा परे । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभाको ४७ मत चाहिन्छ । त्यसमध्ये सभामुख प्रदीपकुमार भण्डारीले निर्णायक मत मात्र दिन पाउने र गुलेफुन मियाँ फरार रहेकोले उनले ३९ मत मात्र प्राप्त गर्ने अवस्था छ । उता विपक्षी गठबन्धन भने ५० मतसहित नयाँ सरकार निर्माणको तयारीमा छ ।

गठबन्धनमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका १ सांसद भने कतै खुलेको अवस्था छैन । गठबन्धनको केन्द्रीय तहको सहमति अनुसार प्रदेश १ नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्नेछ । समाजवादी संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दैछन् ।