पर्सा । माधव नेपालको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादी निकट नेपाल निजामती कर्मचारी संगठन पर्साको भवन कब्जा गर्ने नेकपा एमाले पर्साका नेताहरुको प्रयास असफल भएको छ ।
शनिबार एमाले निकट कर्मचारीहरुले वीरगञ्जस्थित निजामती कर्मचारी संगठनको भवन कब्जा गर्न पुगेका थिए । संगठनको भवन कब्जा गर्ने योजना बारे कर्मचारी संगठनका नेताहरुलाई थाहा पाएलगत्तै प्रतिकारमा उत्रिएपछि उनीहरुको प्रयास असफल भएको हो ।
एमाले विभाजन भएपछि पर्सामा निजामती कर्मचारीहरु माधव नेपाललाई समर्थन गर्दै सोही पार्टीको समर्थित संगठन भएपछि एमाले पक्षका कर्मचारीहरुले सो कार्यालयको भवन कब्जा गर्न खोजेको थियो ।
नेकपा एकीकृत समाजवादी निकट कर्मचारीहरुले आफ्नो भवनमा कार्यक्रम गर्न नदिएपछि उनीहरु त्यहाँबाट फर्केर वीरगञ्जको घण्टाघर स्थित रोयल पाटी प्यालेसमा पुगेर भेला गरेका थिए ।
सो संगठनलाई फुटाउन नेकपा एमाले निकट कर्मचारी संगठनका सह–संयोजक लेखनाथ कोइराला, गौतम पोखरेल समेत पर्साको वीरगञ्ज पुगेका थिए ।
संगठनको भवन कब्जा गर्न र संगठन फुटाउने प्रयासमा एमाले पर्साका अध्यक्ष प्रभु हजारा, प्रदेश सदस्य बसरुद्धिन अन्सारी, प्रधुमन चौहान, वीरगञ्ज महानगर सचिव सुन्दर कुर्मी लगायतका नेताहरु समेत लागि परेको नेकपा एकीकृत समाजवादी पर्साले आरोप लगाएको छ ।
संगठनको भवन एक वर्ष अघि नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरी, संगठनका नेता सुबादार यादव लगायतको सक्रियतामा भवन निर्माण गरिएको थियो ।