• मंसिर १३ २०८१, बिहीबार

सरकारले गति लिनु सकेन : गगन थापा

कार्तिक ५ २०७८, शुक्रबार

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारले जुन गति पक्रनुपर्ने सो गर्न नसकेको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौं । त्यसैले डर लागेको छ, नेपाली नागरिक भएर । जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौँ । फेरी हामीले अब अर्को मौका खेर फाल्दै छौ कि भन्ने डर लाग्न थालेको छ । यो बेला सम्हालिनुपर्नेछ ।’

उनले थप भने, ‘हाम्रा अगाडि केही मौकाहरु अहिले पनि छन् । एउटा हामीले माने पनि नमाने पनि एसिया त्यसमा पनि आजको दिन भारत र चीनलाई केन्द्र बनाएर चाहे राजनीति होस् अझ खास गरेर वर्ल्डको इकोनोमी सबै गतिविधि कहाँ छ, चीन र भारत केन्द्रित छ । त्यसको नजिकमा हामी छौं । यो अर्को १०, १५, २० वर्ष रहन्छ । यसभित्र नेपालले लाभ लिन सक्यो भने सक्यो, नत्र फेरि एकपटक मौका छुट्छ ।’

काँग्रेस नेता थापाले विद्युत खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्दै विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध सोच अगाढि ल्याउन ढिलाई गर्न नहुनेमा जोड दिएका छन् ।

नेता थापाले कार्यक्रममा प्राधिकरणका कर्मचारीलाई समेत नेपाल विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न आग्रह गर्दै देशलाई बनाउने हो भने सबैले आ–आफ्नो ठाउँको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यक्ता औंल्याए ।