• मंसिर १३ २०८१, बिहीबार

आज प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्दै

कार्तिक ५ २०७८, शुक्रबार

काठमाडौं । आज दिउँसो १ बजे प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन् ।

दसैँ मनाउन गएका सबै प्रदेशसभा सदस्यहरु विराटनगर फर्किनसकेकाले प्रस्ताव आज टेबुल भए पनि मतदान भने अर्को बैठकमा हुने सम्भावना छ ।

मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि असोज २५ गते संसद् सचिवालयमा सूचना दर्ता गराए पनि त्यसअघि नै संसद बैठक स्थगित भइसकेका कारण आज उक्त प्रस्ताव पेश गरिने भएको स्रोतले बताएको छ ।

असोज २४ गतेको बैठकपछि सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक ५ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र संसदबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने र उपधारा ३ मा तत्काल कायम रहेको संसदको बहुमतबाट पारित नभए मुख्यमन्त्री पदमुक्त हुने उल्लेख छ ।