• मंसिर १३ २०८१, बिहीबार

जनकपुर खानेपानी संस्थानका प्रमुखलाई अर्धनग्न बनाई हिलो दलेर बजार घुमाइयो

कार्तिक ४ २०७८, बिहीबार

जनकपुर। जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुख राजेश कुशवाहामाथि सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । कुशवाहलाई नियन्त्रणमा लिएर उनीहरुले बिहीबार दिउँसो अर्धनग्न बनाई हिलो दलेर बजार परिक्रमा गराएका छन्।

जनकपुरको रामानन्दचोकमा रहेको खानेपानी संस्थानको कार्यालयमा भाटासहित दर्जनौंको संख्यामा पुगेका जनमत पार्टीका नेता कार्यकर्ताहरुले कुशवाहालाई कार्यकक्षबाट तानेर कुटपिटसमेत गरेका थिए।

जनकपुरधाम उपमहानगरपालिका ८ बल्वाटोलमा सडक निर्माणका क्रममा ढल निकासको समस्याबारे निमित्त प्रमुख कुशवाहालाई पटक पटक आग्रह गर्दासमेत कुनै वास्ता नगरेपछि कारबाही स्वरूप हिलो दलेर बजार परिक्रमा गराइएको जनमत पार्टीका एक कार्यकर्ताले बताए।

यसैबीच दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जनमत पार्टीका सात जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ परेका कार्यकर्तालाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी नारा जुलुस भइरहेको छ ।