काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो र डुबान प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न आज सुदूरपश्चिम प्रदेश तर्फ प्रस्थान गरेका छन् । बिहीबार विहान ८ बजे उनी काठमाडौंबाट बाढी पहिरो र डुबान प्रभावित विभिन्न जिल्लामा अवलोकन गर्न प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि सहभागी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको टोली प्रधानन्त्रीको सरकारी निवास बालुवाटारबाट सिधै सुर्खेत जाने छ ।
सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशमा भएको क्षतिका सन्दर्भ प्रधानमन्त्रीले बिफ्रिङ लिने छन् । त्यसपछि प्रधानमन्त्रीको टोली सुर्खेतबाट डोटीको दिपायल प्रस्थान गर्नेछ । दिपायलमा बिफ्रिङ तथा अवलोकन गर्ने कार्यक्रम छ । दिपायलबाट प्रधानमन्त्रीको टोली बझाङतिर लाग्ने छ । त्यहाँ पनि बिफ्रिङ र अवलोकन गर्ने कार्यक्रम छ ।
बझाङबाट प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेलधुरा प्रस्थान गर्ने छन् । त्यहाँ पनि बिफ्रिङ र अवलोकन गर्ने छन् । त्यसपछि प्रधानमन्त्रीको टोली कञ्चनपुर प्रस्थान गर्ने छ । कञ्चनपुरमा पनि बिफ्रिङ र अवलोकन गर्ने कार्यक्रम छ । कञ्चनपुरको अवलोकनपछि प्रधानमन्त्रीको टोली कैलाली जाने छ ।
कैलालीको अवलोकनपछि प्रधानमन्त्रीको टोली धनगढी बास बस्ने छ । देउवाको टोली शुक्रबार बर्दिया र बाँके हुँदै मात्रै काठमाडौं फर्किने छ । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा व्यापक जनधनको क्षति भएको छ ।