घोराही । आगामी मंसीर ११ गते दाङमा एक कार्यक्रमको आयोजना गरि राप्तीका स्रष्टाहरुलाई सम्मान गरिने भएको छ । नेपाली गीत–संगीतको विकासका अनवरत खटेका राप्ती क्षेत्रका स्रष्टाहरुलाई सम्मान गर्ने उद्धेश्यले सो पुरस्कार स्थतापना गरिएको हो ।
उत्सर्ग संगीत अवार्ड राप्ती क्षेत्रका दिवंगत स्रष्टाहरुलाई मरणोपरान्त सम्मान प्रदान गरिने छ । पहल नेपाल र उत्सर्ग फिल्मस् नेपालले संयुक्तरुपमा आयोजना गरेको उत्सर्ग संगीत अवार्ड–२०७८ मा नेपाली गीत–संगीतको संरक्षण र विकासमा महत्वपूर्ण योगदान पुर्याएकोले दिवंगत स्रष्टाहरु प्रेमप्रकाश मल्ल, जंगबहादुर गन्धर्व, मधुबाबु थापा, नारायण पाण्डे र मथुराप्रसाद श्रेष्ठलाई मरणोप्रान्त सम्मान गरिने कार्यक्रम निर्देशक केएल पीडितले बताए ।
त्यस अवसरमा जीवित अग्रज स्रष्टाहरुलाई दीर्घसंगीत साधना सम्मान प्रदान गरिनेछ भने केही विशिष्ट प्रतिभाहरुलाई अभिनन्दन तथा पुरस्कृत गरिने छ । साथै त्यस अवसरमा राप्ती क्षेत्रका विभिन्न जाति तथा समुदायका साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिने कार्यक्रम उपनिर्देशक पाण्डव शर्माले बताए ।
अवार्ड वितरण समारोहमा लुम्बिनी प्रदेशका सभामुख जनवादी संगीतकार पूर्णबहादुर घर्तीमगरलाई २५ हजार राशीको उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
राप्ती क्षेत्रका स्रष्टाहरु सहभागी हुने गरी आयोजना गरिए उत्सर्ग संगीत अवार्ड–२०७८ मा राप्ती क्षेत्रमा गाइने लोकभाका, रुपान्तरण एवं राष्ट्रिय भावधाराका गीतहरु, मातृभाषाका गीतहरु, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा अवार्ड प्रदान गरिनेछ ।
अवार्डमा सहभागी हुन चाहने स्रष्टाले आगामी कार्तिक १६ गतेसम्म सिर्जना पठाइसक्नु पर्ने कार्यक्रम उपनिर्देशक शर्माले बताए ।