• कार्तिक ३ २०८३, सोमबार

सैय्यदा जैनब सलामुल्लाहे अलैहाको परिचय र योगदान

कार्तिक २ २०८३, आईतवार

इस्लामी इतिहासमा आदम्य साहसीकी धनी, निर्भयी, दूरदर्शी, सहनशील, धैर्यवान र परम विदुषी नारीको रूपमा सैय्यदा जैनब सलामुल्लाहे अलैहालाई चिनिन्छ । इमाम जाफर सादिक अलैहिस्सलामको रिवायत अनुसार उहाँको जन्म ५ वा ६ हिजरी ५ जमादी अव्वल तारीखका दिन मदीना शरीफमा भयो । उहाँ पैगम्बर हजरत मुहम्मद मुस्तफा सल्लल्लाहो अलैहै व आला आलेही वसल्लमकी नातिनी, हजरत अली अलैहिस्सलाम र सैय्यदा फातिमा जहरा सलामुल्लाहे अलैहाकी छोरी अनि इमाम हसन अलैहिस्सलाम र इमाम हुसैन अलैहिस्सलामकी बहिनी हुन् ।

उहाँका बाबा हजरत अली इब्ने अबी तालिब अलैहिस्सलाम इस्लामका महान व्यक्तित्व जो प्रभावशाली, शक्तिशाली, बहादुर, निडर, नर्भय र सर्वोच्च ज्ञानी, पैगम्बर मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमका काका हजरत अबूतालिबको छोरा र रसूलुल्लाहका ज्वाइँ हुन् । साथै उहाँले चौथो खलिफाका रूपमा खिलाफत पनि गर्नुभएकोछ । उहाँकी आमा सैय्यदा फातिमा जहरा सलामुल्लाहे अलैहा पैगम्बर मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमकी अति नै प्रिय छोरी हुन् ।

यसरी वंशीय आधारमा सैय्यदा जैनब सलामुल्लाहे अलैहा पैगम्बर मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमको पवित्र परिवार अर्थात् अहलेबैतमध्ये एक हुन् । उहाँको दाजुभाइ जो जन्नती जवानहरुको सरदार इमाम हसन अलैहिस्सलाम, इमाम हुसैन अलैहिस्सलाम र उम्मे कुलसुम सलामुल्लाहे अलैहा उहाँकी बैनी हुन् । सैय्यदा जैनबको विवाह अब्दुल्लाह इब्ने जाफरसँग भएको थियो । उहाँका सन्तानका रूपमा अली, औन, मुहम्मद, अब्बास र उम्मे कुलसुमको नाम ऐतिहासिक रूपमा उल्लेख गरिएको पाइन्छ ।

बाबा हजरत अली अलैहिस्सलाम र दाजु इमाम हसन अलैहिस्सलामको शहादतले उहाँलाई गहिरो दुःख पुर्यायो । तर उहाँले धैर्य र विश्वास कायम राख्नुभयो । पछि करबलामा उहाँका छोराहरू औन र मुहम्मदले इमाम हुसैन अलैहिस्सलामको पक्षबाट शहादत प्राप्त गरे । उहाँको वंशीय परिचयले उहाँको ऐतिहासिक महत्त्व देखाउँछ तर उहाँको महानता केवल रसूलुल्लाहको पवित्र परिवारमा जन्मिनु सम्म मात्र सीमित रहेन् ।

उहाँको ज्ञान, चरित्र, धैर्य, साहस र सत्यप्रतिको समर्पणले उहाँलाई अझ विशिष्ट बनायो । उहाँको जीवन परिवारप्रतिको प्रेम, सत्यप्रतिको निष्ठा, अन्यायविरुद्ध विद्रोह गर्ने साहस र कठिन परिस्थितिमा पनि अल्लाहमाथि अटल विश्वास राख्ने प्रेरणादायी र उत्कृष्ट उदाहरण हो । विशेषगरी करबलाको घटनामा उहाँले निर्वाह गर्नुभएको भूमिका इस्लामी इतिहासमा अत्यन्त महत्त्वपूर्ण छ ।

करबलामा शहीद हुनेहरूमध्ये इमाम हुसैन अलैहिस्सलामका छोरा निर्दोष दूधे बालक छ महिनाका अली असगर । जसको शहादत करबलाको सबैभन्दा हृदयविदारक घटनामध्ये एक थियो । बाँकी सबै शहीदहरू साहसी, जवान अनि पुरुष थिए । जसले अत्यन्त कठिन परिस्थितिमा पनि आफ्नो साहस गुमाएनन् । इमाम हुसैनको परिवारबाट केवल एक जना पुरुष उहाँका सुपुत्र इमाम अली इब्ने हुसैन इमाम ज़ैनुल आबिदीन जीवित रहनुभयो ।

किनकि उहाँ त्यसबेला अत्यन्तै बिरामी हुनुहुन्थ्यो । त्यसैले युद्धमा सहभागी हुन सक्नुभएन् । अल्लाहको इच्छा अनुसार उहाँको जीवन सुरक्षित रह्यो । अन्ततः त्यो अत्यन्त पीडादायी क्षण आयो, जसले इतिहासको दिशा नै परिवर्तन गरिदियो। १० मुहर्रम अर्थात् आशूराको त्यो शोकपूर्ण हृदयविदारक दिन, जसको सम्झनाले आज पनि संसारभरका करोडौँ मानिसका हृदयलाई भावुक बनाउँछ र हामीलाई सत्य, धैर्य र कुर्बानीको शिक्षा दिन्छ । आशूराको दिन इमाम हुसैन अलैहिस्सलाम र उहाँका वफादार साथीहरूको शहादतपछि बाहिरी रूपमा हेर्दा सबै कुरा समाप्त भइसकेको जस्तो देखिन्थ्यो ।

करबलाको मैदान शहीदहरूको लाशले भरिएको थियो, खेमाहरू जलाइएका थिए, शहीदहरूको शरीरमाथि घोडा कुदाइएका थिए, लाशहरू लुटिएका थिए, र महिला तथा बालिकाहरूका गहना खोसिएका थिए । गहना लुट्ने क्रममा छ वर्षीया सैय्यदा सकीनाको कानमा लगाएको मुन्द्री जबरजस्ती तान्दा उहाँको कान च्यातिएको र रगत बगेको थियो । त्यसपछि जीवित रहेका इमाम ज़ैनुल आबिदीन, अहलेबैतका महिलाहरू र बालबालिकालाई बन्दी बनाएर यजीदको दरबारतर्फ लगियो ।

भनिन्छ सत्यको संघर्ष तरबारको जित वा हारसँगै समाप्त हुँदैन् । करबलाको वास्तविक विजय त्यसपछि सुरु भयो । बन्दी जीवनको कठोर अवस्थामा समेत अहलेबैतका महिलाहरू विशेषगरी हजरत ज़ैनब सलामुल्लाहि अलैहा र इमाम हुसैन अलैहिस्सलामका छोरा इमाम ज़ैनुल आबिदीन अलैहिस्सलामले आफ्ना ऐतिहासिक सम्बोधन र अटल साहसद्वारा यजीदको अत्याचारलाई उजागर गर्नुभयो । उहाँहरूले करबलाको सन्देशलाई इतिहासको पानाबाट मानवताको चेतनासम्म पुर्‍याउनुभयो। सन् ६१ हिजरीमा करबलामा जुन तरिकाले बर्बरता र अमावीयताको हद पार गरियो । त्यसको बारेमा सत्य र यथार्थ सन्देश संसारभरि पुर्‍याउनुमा अहलेबैतका महिलाहरूको पनि निकै अहम् भूमिका रहेकोछ ।

शहादते इमाम हुसैन अलैहिस्सलाम पश्चात जब करबलाको युद्ध सकियो इमाम हुसैन र उनका साथी शहीद भए । त्यसपछि त्यत्तिकै महत्त्वपूर्ण अध्याय र बर्बरताको अर्को चरण सुरु भयो । किनकि इमाम हुसैन अलैहिस्सलामको शहादत पश्चात इमाम जैनुल आबेदीन सिकिस्त विरामी रहनु भएकोले अब इमाम हुसैन अलैहिस्सलामको साथमा करबला आउने जतिको नेतृत्व हजरत सैय्यदा जैनब बिन्ते अली अलैहिस्सलामले गर्नुभयो । करबलामा आशूरको रात थियो चारैतिर अन्धकार, शोक, पीडा र अन्यौलको अवस्था थियो ।

यस्तो अवस्थामा हजरत सैय्यदा जैनब सलामुल्लाहे अलैहाले सम्पूर्ण काफिलालाई सम्हाल्नुभयो । आफ्ना दाजुभाइ, भतिजाहरू र आफ्नै छोरा औन र मुहम्मदको शहादतको गहिरो पीडा सहेर पनि उहाँले धैर्य र साहस गुमाउनु भएन् । जलेका खेमाहरूका बीच महिला र बालबालिकालाई एकत्रित गर्नु, बिरामी इमाम जैनुल आबिदीन अलैहिस्सलामलाई जल्दै गरेको खेमाबाट आफ्नो पिठ्यूँमा बोकेर बाहिर निकाल्नुभयो । साथै अन्य बालबालिकाहरुलाई पनि जल्दै गरेको खेमाबाट बचाइकन निकालेर बाहिर ल्याउनुभयो । आशूराको त्यो भयानक रातमा लाखौं यजीदी लश्करको उपस्थितिमा इमाम जैनुल आबेदीनको सुरक्षा गर्नु र सम्पूर्ण परिवारलाई सान्त्वना दिनु सबैलाई सम्हाल्नु चानचुने कुरा थिएन् ।

यही क्षण थियो जहाँबाट फातहे खैबर मौला अली अलैहिस्सलामको जुल्फेकार सैय्यदा जैनबको वाणीमा परिणत भयो । करबलाको मैदान त्यतिबेला संसारबाट टाढा र सुनसान स्थान थियो । त्यतिबेला कुनै यस्तो संचार माध्यम थिएन् जसबाट वास्तविक समाचार तुरुन्तै संसारभरि फैलिन सकियोस् । तब सैय्यदा जैनब सलामुल्लाहे अलैहाले आफ्नो खुत्बाको मार्फत संसारलाई करबलाको वास्तविक दास्तान ए करबला सुनाउन सुरु गर्नुभयो र यजीदको बर्बरता, कूरुर्ता दानवता र अमानवीयतालाई जगसामु उजागर गर्नुभयो ।

यदि अहलेबैतका महिलाहरुमा सैय्यदा जैनब सलामुल्लाहे अलैहा जतिको महिलाहरु नभएका भए सम्भवतः करबलाको घटना यजीदको सरकारी मनगढन्ते बयानबाजीहरू सम्म मात्र सीमित हुन पुग्थ्यो । तर हजरत सैय्यदा जैनब बिन्ते अली र उम्मे कुलसूम बिन्ते अलीले त्यसो हुन दिनुभएन् । कूफादेखि शामसम्मको यात्राको क्रममा हरेक अवसरमा उहाँहरूले मानिसहरूलाई रसूलुल्लाह ﷺ का नातिमाथि कसरी बर्बरताको सीमा पार गरी उहांहरुमाथि कुन हद सम्म दमन गरियो, कसरी उहाँहरूलाई प्यासै राखियो र परिवारमाथि कस्तो अत्याचार गरियो भन्ने कुरा बताउनुभयो।

कूफा र दमिश्कको दरबारमा सैय्यदा जैनबको ऐतिहासिक खुत्बा

कूफामा हजरत सैय्यदा जैनब सलामुल्लाहे अलैहाको ऐतिहासिक खुत्बा त्यहाँका मानिसहरूका लागि ऐना साबित भयो । जुन ऐनामा जस जसले इमाम हुसैनलाई आउनुहोस् हामी बयत (समर्थन) गर्छौं भनेर पत्र लेखेका थिए र पछि साथ छोडेका थिए, उनीहरूले आफ्नो छवि देखे र आफ्ना कर्मप्रति पश्चाताप गर्न थाले । सैय्यदा जैनबले आफ्नो खुत्बामार्फत उनीहरूलाई केवल रुवाउनु मात्र भएन, बरु उनीहरूको जिम्मेवारी पनि बोध गराउनुभयो। त्यसैगरी दमिश्कको दरबारमा जहाँ दमरकारी सत्ता र शक्ति आफ्नो चरम घमण्डमा सिंहासनमा विराजमान थियो । त्यहाँ एक बन्दी महिलाको आवाजले दरबारभित्रको माहौल नै परिवर्तन गरिदियो । उहाँले स्पष्ट भन्नुभयो कि “वास्तविक विजय तरबारको होइन् , सत्यको हुन्छ र अल्लाहको अदालतमा हरेक अत्याचारीले जवाफ दिनुपर्नेछ।”

यजीदले जब सत्ता र जीतको नशामा सैय्यदा जैनब सलामुल्लाहे अलैहालाई इन्कित गरेर भन्यो ‘देख्यौ मेरो तागत र शक्ति, तिम्रा भाइभारदार र आफन्तहरुले मेरो शक्ति तागत र अधीनता स्वीकार गरेनन् जसले गर्दा उनीहरूलाई मारिदिएकोछु । आज तिमीहरु मेरो दरबारमा कैदी भइ उपस्थित भएकाछौ’ ।

यो कुरा सुनेर सैय्यदा जैनब सलामुल्लाहे अलैहाले यजीदलाई जवाफ दिँदै भन्नुभयो “यो डोरी र जन्जीर हाम्रो लागि अल्लाहको तर्फबाट परिक्षा मात्र हो तिम्रो तागत र अधीनता होईन् । अधीनताको धाक लगाउँस् कि सबै कुरा तेरो अधीनमा छ हैन र ? सक्छस् भने त्यो झ्यालबाट आउने हावा रोक, बाहिर बसेका ऊंटहरुको घांटीमा बाँधिएका घन्टीको आवाज मलाई मन पर्दैन् सक्छौं त्यो ऊंटको हल्लिँदै गरेको घांटी रोक, (यत्तिकैमा अजान हुन थालेछ सैय्यदा जैनब अजानको आवाज सुनेर एकछिन मौन हुनुभयो अजान सकिएपछि पुनः खुत्बा दिन सुरु गर्नुभयो र भन्नुभयो ) यो अजानमा “असहदु अन्ना मुहम्मदुर्रसूलुल्लाह” जुनकि मेरो हजुरबुवा पैगम्बर हजरत मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमको नाम आउंछ,सक्छौं भने उहाँको नाम हटाएर आफ्नो हजुरबाको नाम राख।

मलाई थाहा छ तिमी यी मध्ये केही पनि गर्न सक्दैनौं, रोक” भन्नभयो । यतिकैमा झ्यालबाट आउने हावा रोकियो, ऊंटको घाँटी बाँधेको घण्टीको आवाज आउन रोकियो, सारा दरबारी मुर्दा सरह भइ दिए । एकछिनपछि यजीदको जिउ हल्लियो जबकि बाकी दरबारी अझै लाश सरह ज्यूं का त्यूं थिए । सैय्यदा जैनब सलामुल्लाहे अलैहाले यजीदलाई भन्नुभयो “यो हो हाम्रो शक्ति तर अहिले हामी यहाँ शक्ति प्रदर्शन गर्न आएका छैनौं ।”

सैय्यदा जैनब सलामुल्लाहे अलैहाले यस्तो कठिन परिस्थितिमा परिवारका सदस्यहरूलाई सम्हाल्नुभयो। बिरामी अवस्थामा रहनुभएका इमाम अली इब्ने हुसैन, अर्थात् इमाम जैनुल आबिदीन इमाम सज्जादको सुरक्षामा उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। कूफामा उहाँको जीवन खतरामा पर्दा जैनब सलामुल्लाहे अलैहाले हस्तक्षेप गरेर उहाँको रक्षा गर्नुभएको थियो। उहाँले त्यस दुःखदघडीमा परिवारका सदस्यलाई भावनात्मक सहारा दिनुका साथै उनीहरूको जीवन, सम्मान र भविष्यको संरक्षण गर्ने नेतृत्व प्रदान गर्नुभयो।

सैय्यदा जैनब सलामुल्लाहे अलैहाको दमिश्कमा गर्नुभएको प्रसिद्ध सम्बोधनले सत्य, न्याय, धैर्य र अत्याचारको विरोध गर्ने अदम्य साहसलाई उजागर गर्छ । उहाँले शक्तिशाली शासकको अगाडि पनि अन्यायलाई अन्याय भन्नुपर्ने सन्देश दिनुभयो । उहाँको दृष्टिमा सत्य र न्यायका लागि जीवन अर्पण गर्ने व्यक्तिहरूको बलिदानलाई राजनीतिक पराजयले कहिल्यै मेटाउन सक्दैन् ।

त्यसैगरी, शासन वा पदमा रहेको व्यक्तिले गरेको अन्यायलाई सामान्य ठान्नु हुँदैन् र कठिनाइ तथा विपत्तिका बीच पनि अल्लाहको न्यायमाथि विश्वास कायम राख्नुपर्छ । कूफा र दमिश्कमा उहाँले गर्नुभएका सम्बोधन तथा सत्यको पक्षमा उठाउनुभएको आवाजले उहाँलाई इस्लामी इतिहासमा अझ् विशिष्ट स्थान दिलाएको छ ।

सैय्यदा जैनबका गुण एंव योगदानहरु

सैय्यदा जैनब सलामुल्लाहे अलैहा इस्लामी इतिहासमा साहस, धैर्य, ज्ञान, आत्मसम्मान र सत्यप्रतिको अटल प्रतिबद्धताका लागि स्मरण गरिने महान् व्यक्तित्व हुनुहुन्छ । उहाँको नेतृत्वदायी भूमिका परिवारको संरक्षण सम्ममा मात्र सीमित थिएन् । करबलाको दुःखद घटनापछि उहाँले सामाजिक चेतना जगाउने, अन्यायको विरोध गर्ने र इमाम हुसैन अलैहिस्सलामको बलिदानको सन्देशलाई जन – जन समक्ष पुर्‍याउने महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभयो।

सैय्यदा जैनब सलामुल्लाहे अलैहाले आफ्नो परिवारबाट गरिब तथा असहायलाई सहयोग गर्ने, सत्य बोल्ने, मानिसलाई सम्मान गर्ने र कठिन समयमा धैर्य राख्ने शिक्षा प्राप्त गर्नुभयो। पैगम्बर मुहम्मद ﷺ तथा अहले बैतको ज्ञान, नैतिकता र धार्मिक परम्पराले उहाँको जीवनमा गहिरो प्रभाव पारेको थियो। उहाँ ज्ञान, वक्तृत्वकला, विवेक र साहसका लागि प्रसिद्ध हुनुहुन्छ ।

उहाँको जीवनबाट आजको समाजले सिक्नु पर्ने

आजभोलि समाजमा अन्याय, हिंसा, विभेद, कमजोरमाथिको दमन र सत्य बोल्ने व्यक्तिलाई दबाउने प्रयास गरिन्छ । यस्तो अवस्थामा सैय्यदा जैनब सलामुल्लाहे अलैहाको जीवनका शिक्षाहरू अति सान्दर्भिक र महत्वपूर्ण छन् । उहाँले हामीलाई सिकाउनुभएको छ कि अन्यायविरुद्ध आवाज उठाउनु हाम्रो नैतिक जिम्मेवारी हो । महिलाको ज्ञान, नेतृत्व र सार्वजनिक सहभागितालाई सम्मान गरिनुपर्छ । संकटमा परेका महिला, बालबालिका र असहाय व्यक्तिलाई संरक्षण गर्नुपर्छ। शोक र पीडालाई घृणा फैलाउने माध्यम नभई सत्य र न्यायको पक्षमा उभिने प्रेरणा बन्नुपर्छ । धार्मिक आस्था केवल व्यक्तिगत इबादतमा मात्र सीमित हुँदैन् त्यसले आचरण, न्याय, मानवता र जिम्मेवारीबाट पनि अभिव्यक्त हुनुपर्छ।

उहाँको जीवनले हामीलाई सिकाउँछ कि साहस भनेको केवल युद्धको मैदानमा उभिनु मात्र होइन् , दुःख, अपमान, अन्याय र कठिनाइका बीच पनि अडिग रही सत्य र न्यायको पक्षमा दृढतापूर्वक आवाज उठाइरहनु हो ।