काठमाडौं । पूर्वमन्त्री तथा नेपाल मगर संघका पूर्व केन्द्रीय अध्यक्ष गोरेबहादुर खपाङ्गीको १०औं स्मृति दिवस काठमाडौंमा विशेष कार्यक्रम गरी मनाइएको छ । यही भाद्र महिनाको ११ गते कलंकीमा रहेको नेपाल मगर संघको मुलघरमा आयोजना गरिएको सो कार्यक्रमको आयोजक नेपाल मगर संघ रहेको छ ।
सोही अवसरमा बोल्दै पूर्वमन्त्री तथा राजावादी नेता केशरबहादुर विष्टले हिजोका राजारजौटाहरुले आफ्नी छोरी विदेशीसित विहे गरिदिने र विदेशीका छोरी आफूले विहे गरेर ल्याउने गलत चलन चलाएको बताए ।
विष्टले गोरेबहादुुर खपाङ्गीसित आफू नजिकै रहेर सहकार्य गर्दै आएको स्मरण गर्दै खपाङ्गीले सबै नेपाली जातजातिहरुको बीचमा एकता कायम गर्न धेरै राम्रो काम गरेको बताए । राजनीति प्रसंगको एक सन्दर्भमा विष्टले माओवादीले ढाडमा टेकेर टाउकोमा हान्ने नीति लिनु गरिवको आडमा सत्तामा पुग्नु र पृथ्वीनारायण शाहले मगरहरुलाई साथमा लिएर नेपाल एकीकरण गर्नु उस्तै रहेको बताए । उनले मगरहरु राष्ट्रिय चरित्र भएको समुदाय भएपनि एकल चरित्र भएका शासकहरुले मगरको यही चरित्रलाई भजाएर सत्तामा पुगेको दाबी गरे ।
नेपाल मगर संघका अध्यक्ष रक्षा रैकामगरले गोरेबहादुर खपाङ्गी नेपाली मगर समुदाय र अन्य समुदायको लागि समेत अत्यन्तै महत्वपूर्ण व्यक्ति रहेको भन्दै खपाङ्गीले सुतेर बसेको जनजातिहरुलाई ब्यूँझाउने काम गरेको बताए । खपाङ्गीले नेपालमा राजनीतिक र सामाजिक चेतना जगाउने काम गरेको भन्दै अध्यक्ष रैकाले खपाङ्गीको योगदानको कदर गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा बोल्दै नेपाल मगर संघका वरिष्ठ उपाध्यक्ष टेक नामजाली मगरले नेपालका उत्पीडित जातिको मुक्तिको माग उठाउने पहिलो नेता नै गोरेबहादुर खपाङ्गी रहेको भन्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे । उनले नेपाल जस्तो बहुजातीय र बहुभाषिक देशमा सधैभरी एकलजातीय राज्य कायम रहेकोले देश सधै विरामी परिरहने बताए ।
उपाध्यक्ष मगरले गोरेबहादुर खपाङ्गीले आफ्नो उद्धेश्य सगरमाथाको शिखरमा पुग्ने रहेको भएपनि मेरो समुदाय भने खोलाको किनारामा दिशा गरेर ढुंगाले पुछेर हिंड्ने चेतानामै रहेकोले यो जातिलाई माथि उठाउन अझै धेरै समय लाग्ने कुरा बताएको स्मरण गराए । नामजालीले नेपालको सत्तामा एकलनश्लीय शासकहरु रहेकोले मगरहरुले सत्ताको केन्द्रमा हस्तक्षेप बढाएर समावेशी राज्य निर्माण गर्ने कुरामा खपाङ्गीले बौद्धिक काम गरेको स्मरण गरे ।
कार्यक्रममा मगर संघ आवद्ध विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै मगर प्राज्ञ परिषदका कुलपति डा. श्यामु थापाले गोरेबहादुर खपाङ्गीसितको सहकार्यकै कारण आफूहरुले आफ्नो थर थापामगर लेख्ने प्रेरणा मिलेको सुनाइन् ।
गोरेबहादुर खपाङ्गीले बाँचुञ्जेल मगरहरुलाई दबाएर राखिएकोले दब्न नहुने कुराको प्रेरणा दिएको बताइन् । उनले गोरेबहादुरहरुको प्रेरणाकै कारणले मगरले गर्वका साथ हामी मगर हौं भन्न सक्ने बनाएको बताइन् ।
नेपाल मगर संघका संरक्षक अधिवक्ता गौबहादुर आलेले गोरेबहादुर खपाङ्गी मगर समुदायका बौद्धिक र अध्ययनशिल व्यक्तित्व भएको भन्दै खपाङ्गीले मगर भाषाबाट गरेको भाषण मगर समुदायमा निकै प्रभावकारी भएको बताए । आलेले गोरेबहादुरले मगर समुदायमा भाषिक र साँस्कृतिक चेतना फैलाउन ठूलो भूमिका खेलेको अनुभव पनि सुनाए ।
वक्ताहरुले गोरेबहादुरले देखाएको उत्पीडित जातिहरुको राज्यसत्तामा सहभागीताको विषयलाई निरन्तर उठाउने प्रतिवद्धता पनि जनाएका छन् ।
कार्यक्रमको अन्त्यमा मुख्य अतिथिलाई मायाको चिनो प्रदान गरेर कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रममा मगर समुदायका बुद्धिजिवी, अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
तस्वीरहरू : राेमन बुढामगर ।