काठमाडौँ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टार प्रा.डा मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन्। सरकारले गरिरहेको छानबिनलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले शुक्रबार उनले पदबाट राजिनामा दिएका हुन् ।
उनी २०७७ साउन ४ मा प्रतिष्ठानको रजिस्ट्रारमा ५ वर्षका लागि नियुक्त भएका थिए । मन्त्रालयले उनलाई पाँच वर्षसम्मका लागि रजिष्टारमा नियुक्त गरेको थियो।
तर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको बेथिति सुधार अभियानका नाममा ५१ दिनसम्म चलेको आन्दोलनका क्रममा उनी पनि निशानामा परेका थिए। ५१ दिन लामो आन्दोलनपछि संयुक्त संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच गत २० साउनमा ६ बुँदे सहमति भएको थियो।
प्रतिष्ठान शुद्धीकरण अभियानको ५१ औँ दिन बुधबार मन्त्रालयले खटाएको वार्ता टोली र आन्दोलनरत चिकित्सकबीच भएको सहमति अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ घ मा व्यवस्था भएअनुसार चारैजना पदाधिकारी हटाउन सकिने व्यवस्थामा उल्लेख प्रक्रिया सहमति भएकै दिनबाट सुरु गर्ने भनिएको थियो।
त्यही सहमति कार्यान्वयनका क्रममा रेग्मीले पदबाट राजीनामा दिएका हुन्।