सुनसरी ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धिकरणको माग राखी शिक्षक, कर्मचारीले गरेको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ । सो पार्टीको धरान नगर कार्यसमितिले कार्यसमितिले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनको कार्यक्रम ७२ दिन पुगिसकेको हुँदा सम्बन्धित पक्षलाई सुनुवाइको माग गरेको हो ।
नगर अध्यक्ष नवीन पराजुलीले जारी गरेको विज्ञिप्तमा प्रतिष्ठानले स्वास्थ्य सेवा प्रवाह तथा शैक्षिक कार्यक्रममा पछिल्लो केहि समययता स्थापनाकालको तुलनामा कमी आइरहेको बेला कर्मचारीका बीचमा भएको असमझदारीले अझ प्रतिष्ठानको ख्यातीमा दाग लागेको ठहर गरेको छ ।
यहाँको विसंगति र विकृतिबारे धरानका प्रमुख सहितको सरोकारवाला समूहले मन्त्रालयमा ध्यानाकर्षण गरी काठमाण्डौबाट फर्किसकेको भएपनि आन्दोलनको मागले सार्थकता पाएको छैन ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रतिष्ठानबाट संकलित प्रमाण र फाइलहरुको अध्ययनबाट देखिएका ब्यहोरा र समितिहरुले स्वास्थ्य मन्त्रालय र कुलपति कार्यालयमा पेश गरेको र गर्ने प्रतिवेदनको आधारमा दोषीलाई कडा कार्वाही गर्न माग गर्दछ ।’
आन्दोलनमा उठाइएका विषयहरुको सम्बन्धमा सबै आधिकारिक निकाय, कुलपति, सहकुलपतिहरु जानकार भइरहेको अवस्थामा कार्वाहीको माग गर्दै आन्दोलनकारीले पदाधिकारीको कार्यकक्षमा हालसम्म तालाबन्दी गरेको सन्दर्भमा राप्रपाको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।