काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर जबराले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गरे ।
ओली सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गर्नेले नै पार्टी फुटाउन पाउने गरी अध्यादेश ल्याएको उल्लेख गर्दै अध्यक्ष जबराले नेपाली कांग्रेसले तीन–चार महिनाको अन्तरालमा शासन चलाउन नसक्ने दाबी गरे ।
‘त्यही मान्छे जसले पहिला केपी ओलीले ४० प्रतिशत भएदेखि पार्टी फोड्न पाइन्छ भन्दाखेरी त्यस्तो काम गर्नु हुँदैन अस्थिरता ल्याउँछ भनेर भनेको । त्यही पार्टीले २० प्रतिशतले पनि फुटाए हुन्छ भन्ने अध्यादेश ल्यायो । दुवै ठूला पार्टी, एउटा पार्टी त चकनाचुर नै भो । अर्को ठूला पार्टीले मलाई लाग्छ तीन–चार महिनाको दरमियानमा यो मुलुकमा उसले पनि शासन चलाउन सक्दैन,’ उनले भने ।