• फाल्गुन २७ २०८२, बुधबार

ओली–नेपालले बाहुबली संगठन किन ब्युँत्याए ?

श्रावण १६ २०७८, शनिबार

काठमाडौं । नेकपा (एमाले)को एकता अभ्यास दिनानुदिन टर्दै गएपछि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल (ओली–नेपाल) पक्षबीच मुठभेट हुनेसक्ने प्रवल सम्भावना देखिएको छ ।

राष्ट्रिय युवा संघ नेपालले गत असार २९ गते युथ फोर्स ब्युँताएको छ । उक्त संघले सोही दिन पत्रकार सम्मेलनमार्फत युथ फोर्स ब्युँतिएको घोषणा गरेको थियो । युथ फोर्सको प्रमुखमा युवा संघका वरिष्ठ उपाध्यक्ष क्षितिज थेवे र उपप्रमुख पुष्प श्रेष्ठलाई चयन गरिएको छ । उक्त फोर्समा ५०१ सदस्य रहेको युवा संघका सचिव जय गुरुङले बताए ।

युथ फोर्सले तत्कालिन माओवादी शान्ति प्रक्रियामा आए पनि उसले प्रत्यक्ष वा परोक्ष वाईसीएलमार्फत ज्यादती र रबैया मच्चाइ रहेको थियो । त्यसको प्रतिकारका लागि एमालेले २०६५ सालमा युवा संघले तत्कालीन कोषाध्यक्ष महेश बस्नेतको नेतृत्वमा युथफोर्स गठन गरेको थियो । युवा संघका इन्चार्ज महेश बस्नेतले युथफोर्सले विगतमा जस्तै सबैखाले ज्यादतीविरुद्ध जनताको सुरक्षा गर्नुपर्ने यसअघि नै बताएका छन् ।

त्यस्तै ओली पक्षले युथफोर्स ब्युँत्याएपछि त्यसलाई चुनौती दिँदै एमाले वरिष्ठ नेता नेपाल पक्षले पनि अखिल फोर्सको राष्ट्रिय भेला आज (शनिबार) गरेको छ । एमाले अध्यक्ष ओली पक्षले युथफोर्स ब्यूँत्याएपछि त्यसकै काउन्टर स्वरूप अखिल फोर्स गठन गर्न लागिएको नेपाल पक्षले बताएको छ । उसले आज (शनिबार) दिउँसो राजधानीमा आफ्नो बृहत शक्ति प्रदर्शनसमेत गरेको नेपाल पक्षले जानकारी दिएको छ ।

यसअघि एमाले ओलीनिकट नेता तथा सांसद महेश बस्नेतको नेतृत्व राजधानीमा युथ फोर्सले बृहत् मोटरसाइकल र्याली निकालेको थियो । ठीक त्यही शैलीमा शनिबार वरिष्ठ नेता नेपाल पक्षीय अखिल फोर्सले पनि शक्ति प्रदर्शन गरेको छ । नेपाल पक्षले आफू पनि कमजोर नरहेको दाबीसहित राजधानीमा मोटरसाइकल र्याली गरेको हो । एमालेमा आन्तरिक विवाद चर्किंदै गएपछि ओली पक्षले युथ फोर्स ब्यूँत्याएको छ ।

त्यसैगरी उसले साइबर सेना र आइटी आर्मीलाई केही दिनअघिबाट सक्रिय बनाएको बताएको छ । नेपाल पक्षले अखिल फोर्स र पिपुल्स भोलेन्टियर्सलाई पनि ब्युँत्याएको छ । आफू सत्ताबाट बाहिरिएपछि एमालेले आफ्ना यी बाहुबली संगठनलाई ब्युँत्याएको हो ।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा बदरको फैसला गरेको थियो भने देशका दुई ठूला तत्कालिन राजनीतिक दल एमाले र माओवादी केन्द्र ब्युँत्याइ दिएको छ । यी दुई ठूला पार्टी पूर्ववत अवस्थामै ब्युँतिएपछि माओवादी केन्द्रभित्र तत्काल कुनै विवाद देखिएको छैन । तर, एमाले अध्यक्ष ओली–वरिष्ठ नेता नेपाल समूहबीच विगत चार महिनादेखि चर्किएको विवादले पार्टी फुटको सम्मुखमा पुगेको छ ।

पार्टी फुटको सम्मुखमा पुगेपछि एकले अर्कोलाई लत्याउँदै गएका ओली–नेपाल अन्ततः मुठभेटतिर जाने सम्भावना बढेको छ । एकतालाई भुलेर ओलीले नेपालमाथि अशोभनीय र एकता विरोधी अभिव्यक्ति दिँदै हिँडेका छन् भने नेपाल विपक्षी दलसँग गठबन्धन गर्नुका साथै दैननदिन उनीहरूकै पक्षपोषणमा उत्रिएका छन् । यी दुवै पक्षको यही कार्यले पार्टी एकता हुने सम्भावना विस्तारै टर्दै गएको छ ।

एकताको सम्भावना लगभग समापन उन्मुख भएको ओली संकेत गर्छन् । तथापि नेपाल पनि एकताप्रति त्यति उत्साहित नभएको देख्न सकिन्छ । यसैबीच एकता भुलेका यी दुवै पक्षका शीर्ष नेताले एमाले बाहुबली संगठनका रुपमा चिनिदै आएको युथ फोर्स, साइबर सेना, आइटी आर्मी, अखिल फोर्स र पिपल्स भोलेन्टियर्स ब्युँत्याएका छन् ।

यस विषयलाई लिएर गोलमिडया न्युजले एमाले ओलीनिकट सांसद तथा युवा नेता महेश बस्नेतलाई प्रश्न सोध्दा उनी भन्छन्, ‘हामीले युथ फोर्सलाई पुनर्जीवन दिनुको कारण यो समाजमा पुनः अराजक र अनैतिक कार्य गर्नेहरूको बिगबिगी सुरु भएको छ । त्यसलाई न्यूनीकरण गर्नका लागि युथ फोर्समात्रै होइन, साइबर सेना, आइटी आर्मी पनि गठन गरेका छौँ । यी संगठनको कार्य भनेकै राजनीति तथा हाम्रो समाजमा हुने गरेका विकृति, विसंगति निरुपन गर्नु नै हो ।’

त्यस्तै एमाले वरिष्ठ नेता नेपालनिकट मानिने सांसद तथा नेतृ रामकुमारी झाँक्रीका अनुसार, जनवर्गीय संगठन वा भातृ संगठन ब्युँताउनुमा कुनै शंका गर्नुपर्ने ठाउँ नै छैन । पार्टीका संगठन जति बढी भए उतिनै काम गर्न सहज हुने हो । एमालेविपरीत वा विपक्ष पार्टीको काउन्टरमा यी संगठन ब्युँताइएका होइनन् । यी त केवल आफ्नो पार्टी सुदृढ, बहुयामिक र चुस्त बनाउँनका लागि पुनर्जीवन पाएका हुन् ।’

नेता बस्नेत र झाँक्रीको अभिव्यक्तिमा केही भिन्नता देखिए पनि अन्ततः यी संगठनको कार्य भनेकै परोक्ष सुरक्षा दिने नै हो । त्यसका लागि उनीहरू गठित भएका हुन् । ‘जतिबेला पनि एमालेभित्र कलह हुनसक्ने देखिएकोले त्यसको रक्षार्थ यी संगठन ब्युँत्याइएको वा गठन गरिएको हुनसक्ने बताउँछन्,’ राजनीतिक विश्लेषक श्याम श्रेष्ठ । विश्लेषक श्रेष्ठ थप्छन्, ‘यो सोभाविक प्रक्रिया हो । राजनीतिक दलले विभिन्न जनवर्गीय वा भातृ संघ, संगठन खोल्न पाउनु उनीहरूको अधिकारभित्र पर्दछ । यसलाई संविधानले नै छुट दिएको छ । तर, यी संगठनले अराजनीतिक चरित्र र बदलापको भावना, विचारबाट टाढा रहनुपर्छ भने आफ्नो पार्टी वा संगठनको विचारबाट विचलित हुनुहुन्न ।

यद्यपि विभिन्न राजनीतिक दलका भातृ संघ, संगठनहरू गठित तथा पुनर्गठित हुनु आफैमा नराम्रो पक्ष भने होइन । तर, यी गठित तथा पुनर्गगठित संगठनहरूले आगामी दिनमा जनमुखी कार्य गर्छन् या गर्दैनन् । त्यो समयले बताउने नै छ । तथापि शीर्ष नेताद्वय ओली–नेपालले राजनीतिक इगो र हठलाई लिएर यी संगठनहरू आपसमा भिड्नु भने राम्रो पक्ष होइन ।