• फाल्गुन २७ २०८२, बुधबार

वर्तमान सरकारलाई गल्ती गर्ने कुनै छुट छैन : गगन थापा

श्रावण १५ २०७८, शुक्रबार

काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताएका छन् ।
बीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले केपी ओलीले यो गरेनन्, त्यो गरेनन् भन्ने दिन गएको स्मरण गराउँदै कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने बताए।
उनले भने,’केपी ओलीले यो गरेनन्, त्यो गरेनन् भनेर भन्ने दिन अब गए । अब यो अभावमा रहेका नागरिकलाई सरकार भनेको कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने हो ।’

थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्युज’ नपाउने उल्लेख गर्दै कहींकतै नचुक्न पनि ध्यानाकर्षण गरेका छन्।

‘कुनै पनि ‘एक्सक्युज’ यो सरकारले पाउने छैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन।’ त्यसैगरी ओली नेतृत्वको सरकारले गएको साढे ३ वर्षमा संविधानको आधार नै भत्काउने काम गरेको छ । संविधान र व्यवस्थामाथि नै अनेकन आशंका उब्जाउने जुन काम गरेको छ, त्यसलाई थितिमा ल्याउने काम वर्तमान सरकारले गर्नु पर्दछ ।’ नेता थापाले सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

फरक प्रसंगमा उनले पार्टीको आसन्न १४औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई आग्रह पनि गरे । ‘पार्टीको महाधिवेशनको तिथिमिति धेरै तलमाथि गर्न पाइँदैन । हाम्रो संविधानले ५ वर्षपछि पार्टीको महाधिवेशनको मिति ६ महिना थप गर्न मिल्ने व्यवस्था गरेको छ,’ उनले भने, ‘संविधानको सो व्यवस्थाअनुसार अब महाधिवेशनको मिति पछि सार्न मिल्दैन । संविधानले किटान गरेको व्यवस्था कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले उल्लंघन गर्न मिल्दैन ।’