काठमाडौँ । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले अहिलेको सरकार परमादेशबाट बनेको भनी नेकपा एमालेका सांसदले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले परमादेशका कारण संसद ब्युँतिएर तलब भत्ता खान पाएका सांसदहरुले परमादेशकै विरोध गर्नु उचित नहुने बताए ।
‘परमादेशे सांसदहरु, परमादेशका कारण अधिकार र सुविधा ग्वाम–ग्वाम लिएर खाइरहेका हामी सांसदहरु अनि परमादेशलाई श्राप ? अनि परमादेशका विरुद्ध यत्रा कुरा ?’ उनले भने ।
सांसद बिडारीले नेकपा एमाले र माओवादी केन्द्र पनि सर्वोच्च अदालतको परमादेशबाट अलग भएको भन्दै परमादेशबाट बनेका दलमा बसेर परमादेशकै विरोध नगर्न आग्रह गरे ।
‘परमादेशबाटै एमाले नामको दल खडा भयो, माओवादी दल खडा भयो । त्यही दलमा बसेर बुर्लुक बुर्लक उफ्रेर मोजमस्ती गरेर यस्तो काम भइरहेको छ,’ उनले भने ।
सांसद विडारीले सर्वोच्च अदालतको फैसलाको विषयमा जनताले छलफल गर्न सक्ने र विद्रोहीले विद्रोह गर्न सक्ने तर संसदमा कुरा उठाउन नपाइने पनि बताए ।
‘के यो संसद सर्वोच्च अदालतको फैसलाको रिभ्यु गर्ने पुनरावलोकन गर्ने ठाउँ हो ? हामीले त्यस्तै संविधान बनाएको हो ? संविधानमा त्यही लेखेको छ ?’ उनले भने । संसारको कुनै पनि देशको संसदमा अदालतको फैसलाबारे छलफल नहुने उनले बताए ।
यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान मिच्न सिकाएका सांसदहरुले अहिले परमादेशको कुरा उठाइरहेको उनले टिप्पणी गरे ।