सिन्धुली। राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिकस्थल सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचय भएको बताएकी छन् ।
नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको बुधबार यहाँ समुद्घाटन गर्दै उनले सङ्ग्रहालयलाई विश्वसामु चिनाउन नेपाली गौरवको विषय भएको बताइन् । यसलाई पर्यटकीयस्थलमा विकास गर्न सकिने र पर्यटन प्रवद्र्धनमार्फत आर्थिक लाभ लिन सकिने पनि उनले सुनाइन् ।
नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमूनाका रुपमा सङ्ग्रहालय रहेको बताउँदै अनुसन्धानकर्ता, विद्यार्थी एवं स्वदेशी र विदेशी पर्यटककका लागि गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने राष्ट्रपतिलेबताइन् ।
एकीकरणका घटना र विषयलाई पाठ्यक्रममा समावेश गरी राष्ट्रिय एकता प्रवद्र्धन गरिनुपर्नेमा राष्ट्रपतिको जोड थियो। त्यस अवसरमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको स्वतन्त्रता र स्वाधीनताको रक्षामा महत्वपूर्ण स्थलका रुपमा सिन्धुलीगढी रहेको बताए ।
उनले सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय स्थापना हुनुले गौरवपूर्ण इतिहास जोगाउन महत्वपूर्ण कार्य भएको बताउँदै यसले राष्ट्रिय एकता र सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सरकारले यस्ता सङ्ग्रहालय निर्माणलाई नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गर्ने उनले बताए ।
सांसद गणेशकुमार पहाडीले ऐतिहासिकस्थल संरक्षणमा १०० पर्यटकीय गन्तव्यस्थलमा समावेश गरेर सिन्धुलीगढीलाई चिनाउने काम भएको बताउँदै यो पर्यटकीयस्थलका रुपमा अङ्ग्रेजहरुको पनि गन्तव्यस्थल हुन सक्ने बताए ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले ऐतिहासिकगढी, किल्ला र एकीकरण मार्गको संरक्षणको कार्ययोजना बनाएर संरक्षणमा लागिएको बताए । उनले इतिहास बिर्सने राष्ट्रको औचित्य नहुने भएकाले २५३ वर्षअघिको ऐतिहासिकस्थललाई चिनाउने काम भएको बताए।
कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र उपप्रमुख मञ्जु देवकोटाले पनि नवननिर्मित युद्ध सङ्ग्रहालयलाई आकर्षक पर्यटकीयस्थलका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । त्यस अवसरमा प्रधानसेनापति थापाले नगरप्रमुख खत्रीलाई सङ्ग्रहालय हस्तान्तरण गरे।
विसं १८२४ असोजमा अङ्ग्रेजसँग भएको युद्धको सम्झनामा सो सङ्ग्रहालय निर्माण गरिएका हो। सङ्ग्रहालयमा त्यतिबेलाको युद्धमा प्रयोग भएका हातहतियार र ऐतिहासिक दस्ताबेज सङ्ग्रह गरिएको छ। युद्धमा सहभागी भएका झन्डै दुई हजार ४०० अङ्ग्रेज फौजमध्ये करिब एक हजार ६०० को मृत्यु भएको बताइन्छ।