काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । । बुद्धनगरस्थित एक पार्टी प्यालेसमा केहीबेर अघि बैठक शुरु भएको हो । आजको बैठकमा विघटित कार्यदलले प्रस्तुत गरेको १० बुँदे सहमतिका विषयमा छलफल भइरहेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।
सो समूहको स्थायी कमिटी बैठक हिजो आइतबार पनि बसेको थियो । हिजोको बैठकमा सो पक्षबाट कार्यदलका संयोजक भीमबहादुर रावलले १० बुँदे सहमतिको बुँदाबारे बैठकमा ब्रिफिङ गररेका थिए । उनको ब्रिफिङपछि सदस्यहरुले धारणा राख्नेक्रम जारी रहेकाले आजको बैठकमा पनि नेताहरुले आफ्ना राय सुझावको क्रम जारी राखेको नेता पन्तले बताए ।
हिजो बसेको बैठकमा अधिकांश सदस्यहरुले पार्टी एकताको पक्षमा धारणा राखेका थिए । आज स्थायी कमिटी सदस्यहरुले धारणा राख्नेक्रम सकिने र आगामी बाटोको विषयमा ठोस निर्णय हुनसक्ने विश्वास सो पक्षका नेताहरुको छ ।
नेता नेपाल १० बुँदे सहमतिमा असहमति जनाउँदै आएका छन् । तर सो पक्षका कार्यदलका सदस्यहरुले सहमति कार्यान्वयन गरी पार्टी एकतामै सबैको भलाई भएको सुझाव बैठकमा राखेको बताइएको छ ।
सो पक्षबाट कार्यदलमा नेता रावल, घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त र भीमप्रसाद आचार्य रहेका छन् । १० बुँदे सहमति भएपछि एमालेले कार्यदल विघटन गरिसकेको छ ।