• फाल्गुन २७ २०८२, बुधबार

संसदीय समितिमा नेता नेपालले भने- ‘प्रतिगमनका मतियार बाहिर जानुस्’

श्रावण १० २०७८, आईतवार

काठमाडौँ। संसद् पुनःस्थापनापछि पहिलोपटक आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमालेका दुई पक्षबीच भनाभन भएको छ । आज बसेको संसदीय ससितिमा नेकपा एमालेका सांसदहरुबीच संसद पुनःस्थापनाको विषयलाई लिएर भनाभन भएको हो ।

बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललगायत सहभागी छन् । नेपालले संसद् पुनर्जीवित भएको भन्दै खुसी व्यक्त गरेका थिए । उनले संघर्षबाट संसद् पुनःस्थापना भएको बताए ।

नेता नेपाललगायत बोलेको केही समयपछि बैठकमा एमाले अध्यक्ष ओलीपक्षका सांसद नारदमुनि रानाले बोलेका थिए ।बोल्ने क्रममा उनले नेता नेपालप्रति कटाक्ष गर्न थाले ।

उनले संसद्लाई जनताले नभई सर्वोच्च अदालतले पुनःस्थापना गरेको बताए । उनले संसद् चाहिनेहरू वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मति लिइरहेका बेला कहाँ थिए भनी प्रश्न गरे ।

साथै उनले यो संसद जनताले नभई अदालतले पुनःस्थापना गरेको बताए ।

सांसद रानाले नेता नेपालसहितका सांसदप्रति कटाक्ष गर्दै आफ्ना भनाइलाई निरन्तरता दिएपछि नेपाल पक्षका सांसद दीपकप्रकाश भट्ट आक्रोशित भए । त्यसपछि नेता नेपाल पनि बोल्न थाले ।

आक्रोशित हुँदै नेता नेपाल र सांसद भट्टले ‘प्रतिगमनका मतियारहरू बाहिर जानुस्’ भने । प्रतिगमनलाई साथ दिने अनि समितिमा आएर जथाभावी भनेको भन्दै नेपाल र भट्टलगायत कांग्रेसका सांसदहरू पनि सांसद रानामाथि खनिए । रानाले अनावश्यक कुरा गरेको भन्दै एमालेको नेपाल पक्षका सांसदले असन्तुष्टि जनाए ।