काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता जारी छ ।
भेटमा सरकारकातर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँण सहभागी छन् भने नेकपाबाट चन्दसहित नेताहरु खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा प्रधानमन्त्रीसँग छलफल भइरहेको बताइएको छ । विप्लवसहितका नेताहरुले यसअघि नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव कुमार नेपाल, जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई लगायतसँग भेटर्वाता गरेका थिए ।
ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमतिपछि विप्लव नेतृत्वको नेकपा शान्तिप्रक्रियामा आएको थियो । सरकारसँगको सहमतिपछि पनि आफ्ना नेता कार्यकर्ता जेलमै रहेको भन्दै विप्लवले असन्तुष्टि जनाउँदै आएका छन् ।