• मंसिर १२ २०८१, बुधबार

नीति तथा कार्यक्रम पारित गरेर बागमती प्रदेशको बैठक स्थगित

जेष्ठ २९ २०७८, शनिबार

काठमाडौँ। बागमती प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। बिहीबार प्रदेश प्रमुख बिष्णु प्रसाद प्रसाईले सभामा प्रस्तूत गरेको बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि शुक्रबार र शनिबार छलफल भएर बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममाथिको छलफलम सत्तापक्ष र प्रतिपक्षका ४५ जना सांसदहरु सहभागी भएका थिए।

छलफलमा सहभागि सत्तापक्षका सांसदहरुले प्रदेश सरकारले तयार पारेको आगामी आर्थिक वर्षका लागि तयार पारेका नीति तथा कार्यक्रमको विभिन्न बुँदाहरुमा संशोधनका लागि सुझाव पेश गरेका थिए ।​प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित प्रतिपक्ष दलले सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको र कुनै ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै प्रदेश सरकारले हावामा नीति तथा कार्यक्रम ल्याएको बताएका थिए ।

सांसदहरुले उठाएका प्रश्न र सुझावका बारेमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिएका थिए । उनले प्रदेश सरकारले प्रदेशका नागरिकहरुलाई केन्द्रमा राखेर कोरोना नियन्त्रण, उपचार र खोपको सुनिश्चितता हुने गरी सरकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको बताए ।

नीति तथा कार्यक्रमको हरेक बुँदालाई कार्यान्वयनमा लैजाने भन्दै सो अनुसार बजेट विनियोजनको तयारी भइरहेको उनको भनाइ छ । सांसदहरुले पेश गरेको नीति तथा कार्यक्रम माथिको संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत गरेपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रमलाई स्वीकृतिका लागी संसद्मा पेश गरेको थिए । सभामुख श्रेष्ठले स्वीकृतिका लागि प्रस्तुत गरेको सरकारको उक्त नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो ।

नीति तथा कार्यक्रम स्वीकृत भएपछि बागमती प्रदेशसभा बैठक आगामी असार १ गते ३ बजेसम्मका लागि स्थगित भएको छ ।