काठमाडौँ। गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई उनको दल राष्ट्रिय जनमोर्चाले फेरि कारवाही गरेको छ।
बिहीबार दलको ह्विप उलंघन गरेकाले थापालाई सांसद पदबाट मुक्त गरिएको राष्ट्रिय जनमोर्चाकी गण्डकी प्रदेशकि सचितक पियारी थापाले बताइन।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रदेश सभामा विश्वासको मत लिने प्रस्तावमा बिहीबार मतदान हुँदा तटस्ठ नबसेर विपक्षमा मतदान गर्न जनमोर्चाले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको थियो।
त्यस प्रस्तावमा थापा आफ्नो दलको ह्विप उलंघन गरेर तटस्थ बसेको हुनाले दलले उनलाई कारवाही गरेको राष्ट्रिय जनमोर्चाले प्रदेश सभालाई जानकारी गराएको छ। प्रदेश सभाको शुक्रबार बस्ने बैठकले थापालाई पदमुक्त गरेको सूचना दिने तयारी गरेको छ।
राष्ट्रिय जनमोर्चाले दलको ह्विप उलंघन गरेको भन्दै गत जेठ २० गतेपनि प्रदेश सभा सदस्यबाट थापालाई पदमुक्त गरेको थियो तर, थापाले थापाले वैशाख १२ मा जारी भएको निर्देशन १५ गतको मतदानका लागि भएको र २७ गते हुने भनिएको मतदान, मुख्यमन्त्रीको राजीनामाका कारण हुन नसकेकाले नयाँ सरकार गठनको पक्षमा पुरानो हृवीप नलाग्ने दाबी गर्दै थापा सर्वोच्च अदालत गएका थिए ।
उनको रिटमा २३ जेठमा प्रारम्भीक सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो ।
एउटा खास कामका लागि जारी भएको हृवीप, सो खास कार्य हुन नसकी परिस्थिति परिर्वतन भएको स्थितिमा भएको कामबाट राजनीतिक दलसम्बन्धी ऐन उल्लंघन भई दल त्याग भएको मानिन सक्छ कि सक्दैन भन्ने कानूनी व्याख्याको विषय भएको अन्तरिम आदेशमा उल्लेख थियो।