जनकपुधाम । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभामा प्रदेश प्रमुख डा. राजेश अहिराजले प्रस्तुत गरे ।
अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । कोरोनाबाट जोगाउन संघीय सरकारसँग सहकार्य गरी सबै प्रदेशबासीलाई खोपको सुविधा उपलब्ध गराउने घोषणा गरिएको छ ।
कोरोना नियन्त्रण र उपचारका लागि सार्वजनिक नीजि साझेदारीको नीति अबलम्बन गरिनेछ । प्रकोप तथा महामारीबाट हुने मृत्युदर कम गर्न सुविधायुक्त प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रको स्थापना गर्नेछ । प्रादेशिक अस्पताल जनकपुरलाई ५ सय शैयामा सहितको अत्याधुनिक विविशष्टकृत अस्पतालमा स्तरोन्न्ती गरि स्वास्थ्य सेवा उपलब्ध सरकारले घोषणा गरेको छ ।
महामारी तथा आकस्मिक रोगहरुको उपचारका लागि प्रादेशिक तथा जिल्ला अस्पतालहरुमा विशेष व्यवस्था मिलाइने भनिएको छ । यस्तै प्रदेशको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया तथा सप्तरीको रुपनीमा ट्रमा अस्पताल सञ्चालनमा ल्याउने घोषणा प्रदेश सरकारले गरेको छ ।
दलित सशक्तिकरण ऐनले व्यवस्था गरेको प्रदेशभित्रका दलित लगायत सीमान्तकृत तथा विपन्न परिवारहरुको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गरिने घोषणा पनि गरेको छ । गुणस्तरीय प्रयोगशाला सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई अत्याधुनिक भवन, उपकरणसहित आठै जिल्लाका प्रयोगशालाहरुको सुदृढीकरण गरिने भनिएको छ ।