• बैशाख २० २०८३, आईतवार

साउनदेखि असोजसम्म जनगणना गरिने

जेष्ठ २६ २०७८, बुधबार

काठमाडौं । कोरोना महामारीका कारण यस वर्षको राष्ट्रिय जनगणना अभियान प्रभावित भएको छ । अवस्था सामान्य भएको भए हिजो (मंगलबार)देखि सुरु भएर असार ८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने जनगणनाको काम कोरोना भाइरसको महामारीका कारण सुरु हुन नसकेको हो ।

हरेक १० वर्षमा गरिने जनगणना मिति तोकेर पनि समयमा सम्पन्न गर्न नसकिएको यो इतिहासकै पहिलो घटना रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार राष्ट्रिय जनगणना तोकिएको मितिमा हुन नसकेको यो पहिलो घटना हो ।

उनले विश्वका ५ दर्जनभन्दा धेरै मुलुकमा कोरोना महामारीका कारण जनगणना स्थगित भएको समाचार आएको बताए । चौलागाईंले कोरोना महामारीका कारण रोकिएको गणनाको काम अवस्था अनुकुल बन्दै गए मध्य साउनदेखि मध्य असोजको बीचमा गर्ने गरी तयारी सुरु गरिएको जानकारी दिए ।

‘यो आर्थिक वर्षभित्रै काम सम्पन्न गर्न कोरोनाले दिन्छ भन्नेमा ढुक्क भएनौं, त्यसैले अर्को आर्थिक वर्षको लागि बजेट व्यवस्थापन गरेर साउनदेखि असोजसम्ममा जनगणना सम्पन्न गर्ने तयारी गरेका छौं’ चौलागाईंले भने ‘हामीले यस अघि तालिम दिएका सुपरीवेक्षकहरुलाई पनि रिफ्रेसमेन्ट तालिम दिनुपर्ने हुन्छ, त्यसैले यसमा समय लाग्छ ।’

१५ साउनदेखि १५ असोजसम्म जनगणना गर्ने प्रस्ताव असार पहिलो साता मन्त्रिपरिषदमा लैजाने तयारी रहेको पनि विभागले जनाएको छ । सातवटै प्रदेश र ७७ वटै जिल्लामा कार्यालय स्थापना गरेर ८ हजार सुपरीवेक्षक र ३९ हजार गणक समेत छनोट गरिसकेको विभागले जिल्ला तथा स्थानीय तहमा हुने तालिमका लागि केन्द्र र प्रशिक्षण सामग्री समेत तयार पारेर जिल्लामा पठाइसकेको थियो ।

२० वैशाखसम्म तालिमलाई निरन्तरता दिँदै आएको विभागले कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि तालिम लगायत सबै कार्यक्रम स्थगित गरेको छ । विस १९६८ सालदेखि हरेक १०–१० वर्षमा हुँदै आएको जनगणनाको यो १२ औं पटक हो ।