काठमाडौं । एमाले एकताको लागि दोस्रो तहको नेताको पहल जारी छ । अध्यक्ष केपी ओलीले गरेको एकता प्रस्ताव वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरे पनि दोस्रो तहका नेता घनिभूत संवादमा जुटेका छन् ।
राजधानीको समिट होटलमा मंगलबार पार्टी एकता कसरी जोगाउने भनेर दुवै पक्षका नेताहरु छलफलमा बसेका थिए । वार्तामा ओली पक्षबाट सुवास नेम्बाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई सहभागी थिए । यो बैठकमा नेपाल पक्षबाट भीम आचार्य थपिएका छन् ।
एमाले स्थायी समिति सदस्य सुवास नेम्बाङले एकताको पक्षमा छलफल भइरहेको जानकारी दिए । ‘पार्टी एकताको पक्षमा सार्थक छलफल भइरहेको छ’, नेता नेम्बाङले भने, ‘यो निरन्तर जारी रहन्छ ।’ अध्यक्ष ओलीले दोस्रो तहकै नेताहरूको पहलमा जेठ २३ मा २०७५ जेठ ३ गते पूर्वको अवस्थामा फर्किन तयार रहेको भन्दै एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए ।
नेपालले ओलीको उक्त प्रस्तावलाई जालझेल र षड्यन्त्रपूर्ण भन्दै अस्वीकार गरेका छन् । ओली र नेपालीबीच तत्कालीन नेकपामा हुँदादेखि नै विवाद थियो । उनीहरूबीच पछिल्लो पटक वैशाख ३१ गते करिब चार घण्टा संवाद भएको थियो । उक्त वार्ताकै आधारमा दुवै पक्षबाट पाँच–पाँच जना सम्मिलित एकता कार्यदल बनाइएको थियो ।
कार्यदलले काम थालेकै बेला नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेपछि एकता प्रक्रिया खलबलिएको थियो । दोस्रो तहका नेता एकता हुनेमा अझै विश्वस्त देखिएका छन् । दुवै पक्षमा रहेका ‘केही अतिवादी’ले ओली र नेपाललाई मिल्न अवरोध गरिरहेको उनीहरूको निष्कर्ष छ ।
एमाले बलियो र सुदृढ भए मात्रै लोकतन्त्र र संविधानको संरक्षण हुने दुवै पक्षका दोस्रो तहका नेताको निश्कर्ष छ । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।