• फाल्गुन २६ २०८२, मंगलवार

ओलीको प्रस्तावमा पार्टी विभाजन गर्ने आसय लुकेको छ : माधव पक्ष

जेष्ठ २४ २०७८, सोमबार

काठमाडौं । पार्टी एकता जोगाउन नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई जेठ ३ अगाडि फर्काउन राखेको ६ बुँदे प्रस्तावका सम्बन्धमा खनाल नेपाल समूहले लिखित धारणा सार्वजनिक गर्ने भएको छ । ओलीले आइतबार राति गरेको प्रस्तावका सम्बन्धमा छलफल गर्न सोमबार बसेको स्थायी कमिटी बैठकले ओलीको प्रस्तावमा लिखित जवाफ दिने निष्कर्ष निकालेको हो ।

ओलीको आव्हानलाई षडयन्त्रका रुपमासमेत चित्रण गर्दै बैठकले पार्टी २०७५ जेठ ३ पूर्वकै अवस्थामा मुलभूत रुपमा फर्कन तयार रहेको बताउनु र सर्वोच्चमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखिनू नै विरोधाभासपूर्ण रहेको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।

‘ओलीले पार्टी एकताभन्दा पनि विभाजन गर्ने मनसायले हिजोको प्रस्ताव ल्याएको देखिन्छ, कुनै हालतमा सर्वोच्चमा गएको हस्ताक्षर फिर्ता हुन्न,’ ज्ञवालीले भने, ‘प्रतिनिधि सभा विघटन गर्नु सही थियो भन्न सकिन्न, त्यो गलतै हो । उहाँले यसलाई गलत नै भन्नुपर्छ । आफूहरूले राखेको ६ बुँदे प्रस्ताव हाम्रो अडान हो । हामी फेरि त्यो कुरा लिखित रूपमा विज्ञप्तिमा निकाल्दैछौं ।’
ओलीलाई आफूहरूलाई अलमल्याउन खोजेको भन्दै अगाडि भने, ‘वार्ता गर्ने भन्ने अनि नेतामाथिको कारबाही फिर्ता नलिने यस्तो पनि हुन्छ ? समग्रमा ओलीको चालबाजी हो । मनसाय त्यस्तै देखिन्छ ।’

ओलीले प्रतिनिधिसभा मास्नै खोजेको भन्दै खनालनेपाल समूहले कोभिडको बेलामा चुनाव हुन असम्भव भएको ठहर गर्दै यसमा आफ्नो अडान कायमै रहेको बताए ।

ओलीका प्रस्तावमा बुँदागत रुपमै जवाफ दिने गरी खाका तयार भइरहेको बताए । उनले भने यो प्रस्ताव एकता बचाउने इमानदार मनसायबाट आएको नदेखिएको भन्दै आफूहरूले यसको जवाफ बुँदागत रुपमा लिखित नै दिने बताए ।