काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकमा बढ्दै गएको छाडा पत्रकारिताको अन्त्य गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।
सञ्चारग्रामस्थित काउन्सिलमा आज सपथग्रहण र पदबहाली गर्दै उनले सञ्चारमाध्यम र सञ्चारकर्मीको सङ्ख्या बढ्नु खुशीको कुरा भएको सुनाउँदै उनले पत्रकारले जिम्मेवार र मर्यादित भएर काम गर्नु अहिलेको आवश्यकता भएको बताए ।
उनले पत्रकार आचारसंहिताको उल्लंघन गरी गलत ढङ्गबाट बनावटी समाचार बनाएर भ्रम छर्ने जुनसुकै मिडियाप्रति कडारूपमा प्रस्तुत हुने बताएका हुन् । राज्यका उच्च ओहोदाका व्यक्तिलाई जथाभावी गालीगलौज गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
केहि बेथितिका कारणले पत्रकार र गैरपत्रकार छुट्याउन गाह्रो भैरहेको तथा अनलाइनका नाममा खुलेका कतिपय पोर्टलहरूले विकृति फैलाएको भन्दै उनले अब अनुगमन कडाइका साथ गर्ने उल्लेख गरे ।
“काउन्सिल राम्रो संस्था हो भन्ने आभास दिलाउने गरी काम गर्छु”, अध्यक्ष बस्नेतले भने, “आफूले काम नगरी अरुलाई दोष दिने प्रवृत्ति हावी छ, यसलाई कम गर्न मेरो प्रयास रहन्छ ।”