• फाल्गुन २६ २०८२, मंगलवार

उपप्रधानमन्त्री महतोको पुतला दहन, ११ जना पक्राउ

जेष्ठ २२ २०७८, शनिबार

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको विवादास्पद अभिव्यक्तिविरुद्ध एमालेको माधव नेपाल पक्षधर विद्यार्थीले राजधानीमा प्रदर्शन गरेका छन् ।

महतोको पुतला दहन गर्ने क्रममा नेपालपक्षीय अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीसहित ११ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

महतोले नेपाल ‘बहुराष्ट्रिय र बहुराज्य’ मुलुक भएको विवादास्पद अभिव्यक्ति दिएपछि नेपाल पक्षधर अनेरास्ववियुले नयाँ बानेश्वरमा शनिबार साँझ ६ बजेतिर पुतला दहन गरेको थियो । त्यसक्रममा पराजुलीसहित महासचिव आरती लामा, सचिवहरू तपेन्द्र शाही, मेघनाथ चापागार्इं, अशोक थापा र मधेश श्रेष्ठ तथा सदस्यहरू लक्ष्मी क्षत्री, अमर पुन, हर्क बम र आकाश खनाल तथा युवा संघका नेता मानबहादुर बुढालाई प्रहरीले पक्राउ गरी भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा राखेको थियो । नियन्त्रणमा लिइएका सबैलाई प्रहरीले केही घण्टापछि रिहा गरेको छ ।
निषेधाज्ञा उल्लंघन गरेर सडकमा विरोधका कार्यक्रम गरेकाले प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अनेरास्ववियुका अध्यक्ष पराजुलीले नेपालको राष्ट्रिय एकता र सर्वभौमिकताविरुद्ध अभिव्यक्ति दिएपछि आफूहरू त्यसविरुद्ध आन्दोलनमा उत्रिनुपरेको बताए । ‘उपप्रधानमन्त्री महतोको अभिव्यक्ति राष्ट्र विभाजनकारी सोच र अभिप्रायबाट आएकाले त्यसको भत्र्सना गर्दै हामीले महामारीका बीच विरोधमा उत्रिनुपरेको हो,’ उनले भने, ‘विवादास्पद अभिव्यक्ति फिर्ता नलिएसम्म हामी निरन्तर आन्दोलन गर्छौं ।’ शुक्रबार बेलुका महतोको नेतृत्वमा ८ मन्त्री र २ राज्यमन्त्रीसहित जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह सरकारमा सहभागी भएको थियो । शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबार पुगेपछि मन्त्रालयमै सञ्चारकर्मीहरूस“ग उपप्रधानमन्त्री महतोले नेपाल बहुल राष्ट्र राज्य भएको अभिव्यक्ति दिएका थिए । शनिबार आयोजित एक कार्यक्रममा आफ्नो अभिव्यक्ति सही भएको बताएपछि उनीविरुद्ध आलोचना सुरु भएको छ । त्यही क्रममा विद्यार्थीले शनिबार बेलुका बानेश्वरमा उनको पुतला दहन गरेका हुन् ।