• बैशाख २० २०८३, आईतवार

कोरोना खोप सहायताका लागि बेलायतलाई प्रधानमन्त्रीको आग्रह

जेष्ठ २२ २०७८, शनिबार

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कोभिड-१९ महामारीविरुद्ध खोप सहायता उपलब्ध गराउन बेलायती समकक्षी बोरिस जोन्सनलाई आग्रह गरेका छन् ।

बीबीसी विश्व सेवालाई शुक्रबार बेलुका अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले बेलायतको लागि गोर्खाली सैनिकले गरेको योगदानको महत्व बुझेर पनि बेलायतले नेपाललाई खोप प्राथमिकतामा राख्नुपर्ने बताए ।

बेलायतसँग सदियौं पुरानो सम्बन्ध रहिआएकाले बेलायतले नेपाललाई सहयोग गर्नुपर्ने उनको भनाई थियो ।

‘म बेलायत सरकार र विशेषगरि प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपालको कोभिड महामारीको कठिन अवस्थाबारे अवगत गराउन चाहन्छु’ उनले भने, ‘यदि हामीले खोप लगायौं भने मात्र महामारीलाई नियन्त्रण गर्न सक्छौं, नत्र कठिन अवस्था आउन सक्छ ।’

नेपाल बेलायतको पुरानो मित्र भएको नाताले पनि आफूले सीधै आग्रह गरेको समेत उनले बताए । ‘आफ्नो ज्यानलाई जोखिममा राख्दै गोर्खालीले बेलायतको सेवा गरेका छन्’ उनले भने ।

बीबीसीका अनुसार बेलायती विदेश मन्त्रालयका प्रवक्ताले कोभ्याक्स संयन्त्रलाई ५४८ मिलियन पाउन्ड सहयोग गरेको र नेपालले त्यहीअन्तर्गत खोप सहायता प्राप्त गर्ने जनाए । यो वर्षभित्र नेपालले खोप प्राप्त गर्ने बेलायती विदेश मन्त्रालयका प्रवक्ताको भनाई छ ।