सियोल । दक्षिण कोरियाली सरकारले कोरोना महामारी नियन्त्रणका लागि नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । अन्तर्राष्ट्रिय विकास साझेदार संस्था कोइका मार्फत् दुई लाख अमेरिकी डलर बराबरको कोरोना परीक्षण किट सहयोग गरेको हो । शुक्रबार सरकारलाई हस्तान्तरण गरेको उक्त किटबाट १७ हजार ७६० जनाको पीसीआर परीक्षण गर्न सकिने छ ।
नेपालस्थित दक्षिण कोरियाली राजदूत पार्क छङ्सुकले उक्त समाग्री नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा स्वास्थ्य समन्वय विभाग प्रमुख डा. रोशन पोखरेललाई त्रिभूवन अन्र्तराट्रिय विमानस्थलमा हस्तान्तरण गरे । पोखरेलले महामारीको समयमा नेपाललाई निरन्तर सहयोग उपलव्ध गराएकोमा गणतन्त्र कोरियाली सरकारप्रति आभार व्यक्त गरेका थिए ।
उक्त सामग्री हस्तान्तरण गर्दै नेपालका लागि दक्षिण कोरियाली राजदूत छङ्सुकले सहयोगले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि परीक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । हस्तान्तरण कार्यक्रममा अन्तर्राष्ट्रिय विकास साझेदार नियोग कोइका नेपाल प्रमुख खो सङहुनले नेपालको महामारी नियन्त्रणका लागि कोइका मार्फत नेपाल सरकारलाई निरन्तर सहयोग गर्ने बताए ।
अन्तर्राष्ट्रिय विकास साझेदार नियोग कोइका मार्फत ३७८ थान अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराउने प्रक्रिया अगाडि बढाएको र उक्त सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यही जुलाई वा अगष्टसम्म हस्तान्तरण गर्ने योजना रहेको बताइएको छ ।