काठमाडौं । सर्वोच्च अदालतका सबै न्यायाधीशहरुको बैठक बस्दैछ । कोरोना संक्रमणका कारण प्रभावित भएको अदालतको सेवाबारे छलफल गर्न शुक्रबार बैठक बोलाइएको हो ।
कोरोनाभाइरसको असरका कारण सेवा प्रवाहमा गरिएको संकुचन र विविध विषयमा छलफल गर्ने एजेण्डा तय गरेर बैठक बस्न लागेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । विविध विषय अन्तर्गत वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न नियमावली संशोधन गर्नेबारे पनि छलफल हुन सक्ने स्रोतले बतायो ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले संवैधानिक इजलास वरिष्ठताको आधारमा गठन गर्ने बताएका थिए । संसद विघटन विरुद्ध परेका रिटहरुको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यसको पूर्वतयारीका लागि भन्दै संसद विघटनविरुद्धका रिटहरुको सुनुवाइ आइतबारसम्मका लागि स्थगित गरिएको छ ।