• फाल्गुन २६ २०८२, मंगलवार

ओली नसच्चिए नयाँ ढंगले पार्टी बनाउने माधव समूहका भातृसंगठनको चेतावनी

जेष्ठ २० २०७८, बिहीबार

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह निकट जनसंगठनहरुले पार्टी विधान विपरीत भएका निर्णयहरु नसच्चिए पार्टी विसर्जन हुने र नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने सामूहिक घोषणा गरेका छन् ।

बिहीबार १७ जनसंगठनका प्रमुखले संयुक्त वक्तव्य जारी गर्दै फागुन २८ यता अध्यक्ष ओलीले गरेका निर्णय सच्याउन माग गरेका हुन् । पार्टी नेताहरुलाई अवैधानिक ढंगले निष्कासन गरिएको उनीहरुले विज्ञप्तिमा उल्लेख गर्दै फिर्ता लिन माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक व्यवस्था र संबिधान गुम्ने खतरा पैदा भएको छ भने पार्टी विधानविपरीतका एकपछि अर्को गरिएका स्वेच्छाचारी निर्णयले नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलन संकटमा परेको छ । संविधान, पार्टी विधान र पद्धतिविरुद्ध गरिएका सम्पूर्ण निर्णयहरू सच्याएर सुदृढ र एकतावद्ध नेकपा (एमाले) निर्माणको लागि हामी अध्यक्ष ओलीलाई आग्रह गर्दछौं ।

उनीहरूले माग पूरा नभए नयाँ शीराबाट अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।