• मंसिर ११ २०८१, मंगलवार

कोरोनाको नयाँ भेरियन्ट सम्बन्धमा नेपालले माग्यो बेलायतसँग जानकारी

जेष्ठ २० २०७८, बिहीबार

काठमाडौँ। बेलायतका पत्रिकाहरुले नेपालमा कोरोना भाइरसको नयाँ प्रजाती भेटिएको भनेर समाचार प्रसारण गरेपछि नेपाल सरकारले बेलायत सरकारसँग जानकारी मागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको बारे सरकारले बेलायत सरकारसँग जानकारी पठाउन बिहेबार बिहान इमेल मार्फत पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए। उनले भने, ‘बेलायती सञ्चारमाध्यमहरुमा नेपालमा नयाँ भेरियन्ट भेटिएको बारे दावी गरिएको रहेछ । तर यसबारे हामीलाई कुनै जानकारी छैन, नेपालमा अल्फा र डेल्टा भेरियन्ट भेटिएका छन् । तर एक्कासी नयाँ भेरियन्ट भेटिएको कुराले हामी आश्चर्यचकित भएका छौं ।’

नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको जानकारी नभएको विश्व स्वास्थ्य संगठनले पनि बताएको छ । बेलायतले पनि हालसम्म नेपालबाट फर्किएकाहरुमा डेल्टा भेरियन्ट भेटिएको बताएको तर नयाँ भेरियन्टबारे आधिकारिक जानकारी नगराएको पौडेलले जानकारी दिए ।हामी आफैं यसबारे अनभिज्ञ छौं । ‘बेलायतले जानकारी गराए अनुसार यहाँबाट गएकाहरुमा डेल्टा भेरियन्ट भेटिएको खबर पाएका छौं । नयाँ भेरियन्टबारे कुनै अफिसियल जानकारी छैन’ डा. पौडेलले भने ।

डेल्टा (बी.१.६१७.२) भेरियन्ट भने भारतमा पत्ता लागेको र नेपालमा पनि फैलिएको भेरियन्ट हो ।

नेपालमा कुन भेरियन्ट फैलिएको भन्नेबारे नियमित अध्ययन भइरहेको समेत उनले बताएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा पौडेल भन्छन्, ‘भेरियन्टबारे पत्ता लगाउन जिन सिक्वेन्सिङ भइरहेको छ, तर नयाँ भेरियन्टबारे हाम्रो जानकारीमा छैन ।’