काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने हवाई यात्रुलाई क्वारेन्टिन बस्न ७ वटा पाँचतारेसहित ७८ वटा होटललाई क्वारेन्टिन होटलका रुपमा सूचीकृत गरेको छ ।
पर्यटन विभागले काठमाडौंका सांग्रिला, होटल र्याडिसन, होटल याक एण्ड यती, हायात रिजेन्सी, सोल्टी, होटल अलफ्ट र एभरेष्ट होटल गरी ७ वटा पाँचतारे होटललाई क्वारेन्टिन तोकेको छ ।
पर्यटन विभागले होटलको सूची सार्वजनिक गर्दै न्यूनतम मापदण्ड तोकेको छ । विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार कम्तीमा २० वटा कोठा भएको होटललाई क्वारेन्टिनका रुपमा तोकिएको हो ।
सरकारले खाडीमा वैदेशिक रोजगारीमा गएर नेपाल फर्कनेलाई ५ दिन र अन्य अवस्थामा फर्कने नेपाली र विदेशी नागरिकलाई १० दिन होटल बुकिङको प्रमाण देखाएपछि मात्र नेपाल आउन अनुमति दिने नियम बनाएको छ ।
विभागले सार्वजनिक गरेको सूचीमा रहेका होटललाई यात्रुले क्वारेन्टिनका लागि बुक गर्न सक्नेछन् । विभागले यसअघि भारतबाट आउने यात्रुलाई राख्न तोकेका १० होटलमा अन्य ६८ वटा थप गर्दै ७८ वटाको नाम क्वारेन्टिन होटलको रुपमा सार्वजनिक गरेको हो ।
सरकारले ठमेल, सुन्धारा, कलंकी क्षेत्रका होटललाई भने क्वारेन्टिन नबनाउने निर्णय गरेको छ ।